३७ करोड लागतमा मेलम्चीको फट्टेमा पक्की पुल बन्ने, सोमबार सार्वजनिक सुनुवाइ सम्पन्न

* # समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन, मेलम्ची ।

मेलम्ची नगरपालिका वडा नं ११ मा प्रस्ताव गरिएको फट्टे पुल आयोजनाको संक्षिप्त वातावरणीय अध्ययनको मस्यौदा प्रतिवेदन सम्बन्धमा सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको छ । मेलम्ची नगरपालिकाको आयोजनामा सोमबार सार्वजनिक सुनुवाइ गरिएको हो । प्राविधिक सहयोग स्टारलाइन मल्टी कन्सल्टेन्सी प्रा.ली ले गरेको थियो ।

मेलम्ची ११ फट्टेमा बन्ने पुलको लागत ३७ करोड १७ लाख ४९ हजार रहेको छ । मेलम्ची नगरपालिकाले आफ्नै आन्तरिक स्रोत बाट पुल बनाउन लागेको हो । सबै कुराहरू समयमै व्यवस्थापन भएमा पुल बन्न १८ महिना लाग्ने प्राविधिकहरूले जानकारी दिएका छन् । कुनै बाधाहरू आए वा समयमा रकम निकासा हुन नसकेमा पुल बन्न २ वर्ष लाग्ने इन्जिनियर प्रत्युस झाले जानकारी दिनुभयो ।

२०७८ सालमा मेलम्ची नदिमा आएको बाढीले फट्टेको पुल भत्काएको थियो । पुल भत्काएपछि स्थानीयलाई आवतजावत गर्न गठिन भएको छ । यस पुलले दुवाचौर, पाल्चोक, हेलम्बु, पाँचपोखरी थाङपाल गाउँपालिका पुग्ने सडक जोडेको थियो ।

पुल भत्किएपछि दैनिक आवतजावत गर्ने हजारौँ यात्रुहरूलाई मर्का परेको छ । पुल नभएपछि सो स्थानमा अस्थायी संरचना ह्युमपाइप जडान गरेर नगरपालिकाले यातायात सञ्चालनको लागि सहज बनाएको छ । अब सो स्थानमा पक्की पुल बनाउनको लागि नगरपालिकाले बजेट विनियोजन गरिसकेको छ ।

आज सार्वजनिक सुनुवाइ समेत सम्पन्न हुँदा स्थानीय हर्षित भएका छन् । नगरपालिकाले गरेको सार्वजनिक सुनुवाइको स्थानीयले प्रशंसा गरेका छन् । अब छिटै नै पुलको ठेक्का खुल्ने नगरपालिकाले जनाएको छ ।

हाल बन्न लागेको पुलको लम्बाई ९० मिटर रहेको छ । उक्त स्थानमा पहिले ७५ मिटरको आर.सि.सि. पुल थियो ।

कार्यक्रममा स्थानीय राम भक्त दनुवारले पुल बन्न लाग्दा आफूलाई खुसी लागेको बताउनुभयो । “हामी कर्णाली पारी भएका छौँ, पुल बन्दा लाभान्वित हुने छौँ”, दनुवारले भन्नुभयो । पुर्जामा जग्गा भए पनि सुकुम्वासी हुन परेकोमा उहाँले दुःख व्यक्त गर्नुभयो । पहिलाकै ठाउँमा बाटो, पहिलाकै ठाउँमा पुल हुनुपर्छ भनेर आफूले भन्दै आएको र अहिले नगरपालिकाले सोही अनुसार काम गरेकोमा उनले खुसी व्यक्त गर्नुभयो ।

त्यस्तै समाजसेवी राधाकृष्ण श्रेष्ठले मेलम्ची नवलपुरको पुलको जतिकै फट्टेको पुलको महत्त्व भएको बताउनुभयो । पाँचपोखरी, हेलम्बु लगायत पाल्चोक, आमायाङ्री जान र पर्यटकीय हिसाबले फट्टेमा पक्की पुल आवश्यक रहेको बताउनुभयो । “कतिले महत्त्वाकाङ्क्षा भन्लान् तर मेलम्ची नगरपालिकाको हिम्मत र साहसको लागि सलाम छ, यो अत्यावश्यक थियो, यो जरुरी छ”, श्रेष्ठले भन्नुभयो ।

त्यस्तै स्थानीय ज्ञान प्रसाद सापकोटाले मेलम्ची नगरपालिकाले पुल बनाउन ठुलै हिम्मत गरेको बताउनुभयो । “मेलम्ची नगरपालिकाले यति ठुलो पुल बनाउँदै छ । यो पुल नमुना पनि छ”, उहाँले भन्नुभयो । यो पुल नेपालभरिको नमुना पुल बन्ने उहाँको विश्वास छ । “यो पुल छिटो भन्दा छिटो बन्यो भने जनप्रतिनिधिले गरेको साहसले हाम्रो पनि इज्जत बढ्ने छ”, उहाँले भन्नुभयो ।

त्यस्तै व्यवसायी पुष्कर प्रसाद धितालले पुल बन्ने कुरामा सबै व्यवसायी खुसी भएको बताउनुभयो । यस पुलमा काम गर्दा यहाँको लाभान्वित स्थानीयले रोजगारी पाउनुपर्ने धारणा राख्नुभयो ।

मेलम्ची १० का वडा अध्यक्ष अमृत खनालले सबै कार्यपालिका सदस्य मिलेर पुल बनाउने निर्णय लिइएको जानकारी दिनुभयो । “यो निर्णय गर्दा धेरै चुनौती लिइएको छ, हामीले धेरै कुराहरू त्यागेका छौँ”, खनालले भन्नुभयो । सङ्घ र प्रदेशले गर्नुपर्ने काम नगरले गरेर चुनौती मोलेको खनालले बताउनुभयो । मुआब्जाको कारण यो पुल रोकिन नहुने उहाँले धारणा राख्नुभयो । ‘मुआब्जाको कुरा आयो भने यो पुल अम्बोटेमा बनाउनुहोस्, मुआब्जाको जिम्मा म लिन्छु’, उहाँले भन्नुभयो ।

सार्वजनिक सुनुवाइमा आएका सुझाव र जिज्ञासाको बारेमा धारणा राख्दै मेलम्ची नगरपालिकाका उप प्रमुख उमा प्रधानले यो पुल नगरको गौरवको योजना भएको बताउनुभयो । “दिगो विकासको आधार नै पर्यटन हो, देशभरिकै पर्यटक लक्षित गरेर यो प्रोजेक्ट गर्ने निर्णय लिइएको हो”, प्रधानले भन्नुभयो । यहाँ पुल बन्यो भने व्यवसाय प्रवर्द्धन हुने, बजार सम्म उत्पादित सामान लैजान सजिलो हुने उपमेयर प्रधानले बताउनुभयो । “यो प्रोजेक्ट सफल हुनु नै नगरपालिकाको गौरवको कुरा हो”, उहाँले भन्नुभयो । 

सार्वजनिक सुनुवाइ कार्यक्रममा उठेका प्रश्न र जिज्ञासा माथि प्रकाश पार्दै मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले पुल पुरानै ठाउँमा बन्न लागेको हुँदा समस्या नआउने विश्वास व्यक्त गर्नुभयो । बाढी गएको २ वर्ष हुँदा समेत सङ्घले पुल बनाउन चासो नदेखाएकाले प्राविधिकहरू सँग सल्लाह गरी पुल बनाउन लागिएको तामाङले जानकारी दिनुभयो । पुल बनाउँदा यहाँको बस्ती पनि संरक्षण हुने तामाङको विश्वास छ । आन्तरिक स्रोत बाट यति ठुलो लगानीमा पुल बनाउने मेलम्ची नगरपालिका देशकै पहिलो भएको उनले दाबी गर्नुभयो । “हामीले ३ वर्ष लाग्छ भन्ने सोचेका थियौँ तर २ वर्ष भित्रमै पुल बन्ने भयो”, मेयर तामाङले भन्नुभयो ‘कसैले पुल बनाउँदैन भन्ने भ्रम फैलाएको छ भने त्यो भ्रम हो’ ।

त्यस्तै कार्यक्रमको समापन गर्दै मेलम्ची ११ का वडा अध्यक्ष चन्द्र बहादुर तामाङले सङ्घ र प्रदेशले बेवास्ता गरेपछि नगर आफै पुल बनाउन लागेको जानकारी दिनुभयो । सिँचाइ, खानेपानी, सडक लगायत धेरै कुरामा नगरमा समस्या भए पनि पुल अत्यावश्यक भएकाले पक्की पुल पहिलो प्राथमिकतामा परेको उनले जानकारी दिनुभयो । “पुल बनाउँदा वातावरणीय हिसाबले कुनै समस्या देखिएको छैन । प्राविधिक स्टमिट अनुसार समयमै पुल निर्माण हुन्छ”, उहाँले भन्नुभयो ।

सार्वजनिक सुनुवाइ कार्यक्रम नगर प्रमुख आइतमान तामाङको प्रमुख आतिथ्यता र मेलम्ची ११ का वडा अध्यक्ष चन्द्र बहादुर तामाङको सभापतित्वमा भएको हो । कार्यक्रममा वडा अध्यक्षहरु नगेन्द्र प्रसाद खतिवडा, राजु रायमाझी, जितबहादुर तामाङ, अमृत खनाल, गणेश तामाङ, प्रशासकीय अधिकृत झपेन्द्र खरेल, इन्जिनियर लगायतका कर्मचारी, पत्रकार  र स्थानीयको सहभागिता थियो ।

May be an image of 1 person, dais and text
No description available.
May be an image of 1 person, clarinet and flute
May be an image of 2 people, dais and text that says 'मेलम्ची नगरपालिका वडा ११ मा प्रस्ताव गरिएको फट्टे पुल को संक्षिप्त वातावरणीय अध्ययनको मस्योदा प्रतिवेदन सम्वन्धमा आयोजित सार्वजनिक सुनवाई मनईकार्यकम कार्यक्रम २०८० मेलम्ची ११ स्थित फट्ट पुल निर्माण स्थल आयोजक मेतम्वी नगरपातिका मेतम्वी, सिन्युपाल्योक'
May be an image of 1 person, dais and text that says '山 मेलम आयोज स्टार'
May be an image of 6 people and text
May be an image of 5 people
May be an image of 2 people, dais and text that says 'मेलम्ची आयोजन लिका वडा नं ११ मा प्रस्ताव गरि क्षिप्त वातावरणीय अध्ययनको मर सम्बन्धमा आयोजित सार्वजनिक सुनवाई कार्यक्रम २०८० माघ २९ मेलम्ची-११ स्थित फट्ट पुल निर्माण प्राविधिक सहयोग स्टारलाइन मल्टी कन्सल्टेन्सी प्रा.लि. काठमाडी, नेपाल'
May be an image of 11 people, motorcycle and mountain
May be an image of 5 people
May be an image of 5 people
May be an image of 10 people and crowd
May be an image of 5 people and sherpa coat

Leave a Reply