रेडियो मिसन, क्यौरानी ।
महँगो विद्यालयमा पढाउँदैमा शिक्षा राम्रो नहुने बागमती प्रदेशका सांसद कृष्ण कुमार तामाङले बताउनुभएको छ ।
श्री जल वाई देवी माध्यमिक विद्यालय मेलम्ची ८ क्यौरानीको ५० औँ स्थापना दिवस, ४९ औँ वार्षिकोत्सव तथा २१ औँ अभिभावक भेलालाई सम्बोधन गर्दै उहाँले पैसा महँगो हाल्दैमा राम्रो शिक्षा नहुने धारणा राख्नुभयो ।
अभिभावकले घरमा दिएको शिक्षाले मात्र बालबालिकाको शैक्षिक गुणस्तर राम्रो हुने उहाँले बताउनुभयो । “एक दिनको मेला छाडेर भए पनि बालबालिकालाई घरमा समय दिनुस्”, अभिभावक माझ उहाँले भन्नुभयो “त्यसपछि मात्र तपाईँको बालबालिकाले राम्रो शिक्षा पाउँछ ।”
आफ्नो बालबालिका कति बेला विद्यालय पुग्यो र कति बेला घर आयो त्यसको खोजी गर्न जरुरी रहेको तामाङले बताउनुभयो । निजी विद्यालयमा पढाउँदा दिएको जस्तो चासो सरकारीमा पढाउँदा पनि दिनको लागि अभिभावक माझ उहाँले आग्रह गर्नुभयो ।
जल वाई देवी माध्यमिक विद्यालयको पहिरो नियन्त्रण र घेरा वार गर्नको लागि समेत तामाङले प्रतिवद्वता व्यक्त गर्नुभयो । एक विद्यालय एक नर्स अन्तर्गत यस विद्यालयमा नर्स पठाउनको लागि पहल गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मेलम्ची नगरपालिका वडा नं ८ क्यौरानीमा यस बर्ष २ करोड ५० लाख प्रदेश सरकारबाट पठाएको उहाँले जानकारी दिनुभयो । “अब यहाँको मेरुदण्डको योजना पठाउनुस् म बजेट विनियोजन गर्न पहल गर्छु”, उहाँले भन्नुभयो ।

