रेडियो मिसन, नवलपुर ।
समाजसेवी दयाकुमारी मिश्रको पहलमा इन्द्रावती ४ टाकुरेका आगलागी पीडितलाई आर्थिक साथै लत्ताकपडा सहयोग गरिएको छ ।
बालादेवी कालिकादेवी मन्दिर संरक्षण समितिका अध्यक्ष मिश्रको पहलमा आर्थिक सहयोग गरिएको हो । समितिका अध्यक्ष दयाकुमारी मिश्र लगायत १७ जनाले २२ हजार ५ सय ६० रुपैयाँ आर्थिक सहयोग सङ्कलन गरी पीडितलाई सहयोग गरिएको हो ।
सहयोग गर्नेहरूमा दया कुमारी मिश्र ५०५५, गीता मिश्र ५०००, हरि दाहाल २०००, थरेन्द्र मिश्र १००५, धन बहादुर तामाङ १०००, गोविन्द खनाल १०००, मुक्तिनाथ भट्टराई १०००, विदुर काफ्ले १०००, राम प्रसाद काफ्ले १०००, मिठु काफ्ले १०००, विष्णु प्रसाद भट्टराई ५००, नोदनाथ मिश्र ५००, विष्णु प्रसाद आचार्य ५००, शिव प्रसाद आचार्य ५००, भवानी मिश्र ५००, खड्गकुमारी काफ्ले ५०० र भगवती आचार्य ५०० रहेको छ ।
आगलागी पीडित रामकृष्ण गजुरेललाई सहयोग हस्तान्तरण गर्दै दुःख पिडामा मलम लगाउनको लागि सहयोग गरिएको मिश्रले बताउनुभयो । “उहाँहरूलाई परेको पिडामा हामीले सहयोग गर्नुपर्छ भन्ने भावनाले सहयोग गरेका छौँ”, उहाँले भन्नुभयो ।
पीडितलाई रकम सँगै लत्ता कपडा समेत सहयोग गरिएको छ । मिश्रको पहलमा ढकाल फेन्सी स्टोर मेलम्चीका प्रोपाइटर रामहरि ढकाल र न्यु फेन्सी स्टोरका प्रोपाइटर गणेश ढकाल बाट प्राप्त लत्ता कपडा टाकुरे आगलागी पीडित सावित्री गजुरेलको परिवारलाई हस्तान्तरण गरिएको हो ।
सहयोग रकम र लत्ता कपडा बुझ्दै पीडित रामकृष्ण गजुरेलले अब व्यवसायमा फर्कन सक्ने वातावरण खोजिरहेको बताउनुभयो । ध्वस्त भएका घर र टहरा पुन निर्माणको लागि सङ्घ संस्था र व्यवसायीहरूमा सहयोगको लागि समेत गजुरेलले अनुरोध गर्नुभयो ।
गत शुक्रवार बिहान अन्दाजी ५ बजे इन्द्रावती ४ का रामकृष्ण गजुरेलको घरसङ्गै रहेको कुखुराको टहरोबाट आगो लागेको र टहरा सहित घर जलेर नष्ट भएको थियो । आगलागीका कारण अनुमानित ३५ लाख बराबरको क्षति भएको थियो ।