रेडियो मिसन, मेलम्ची ।
मेलम्ची नगरपालिका वडा नम्बर ६ तालामाराङमा रहेको तेर्से माध्यमिक विद्यालयको ३३ औँ वार्षिकोत्सव सम्पन्न भएको छ । मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङको प्रमुख अतिथियतामा सम्पन्न कार्यक्रममा उहाँले गुणस्तरीय शिक्षाको लागि निजी विद्यालयलाई पाखा लगाउने सक्ने विद्यालय तेर्से मावि रहे पनि अझै पर्याप्त नरहेको बताउनुभएको छ । साथै अघिल्लो वर्ष विद्यालयको प्राङ्गणमा ब्लक बिछ्याउनुका साथै खोलाबाट बचाउन सहयोग गरेको स्मरण गराउँदै शैक्षिक गुणस्तर वृद्धिका लागी प्याकेजका योजना बनाएमा नगरपालिकाले बजेट व्यवस्थापन गरिदिने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

नगरपालिकाले शैक्षिक गुणस्तर वृद्धिका लागि नियमित रूपमा सल्लाह सहित काम गरिरहेको र शिक्षकको दरबन्दीको विषयमा निश्चित मापदण्ड र कार्यविधि बनाएर अघि बढिरहेको बताउँदै शैक्षिक कार्यक्रम निर्माण गर्दा सबै शिक्षकहरू सँग सल्लाह गरेर जाने पनि बताउनुभयो । खोलाबाट बस्ती तथा जग्गा जोगाउन निरन्तर लागिरहेको र भौतिक पूर्वाधार, शिक्षक दरबन्दी, शैक्षिक गुणस्तरको काम नगरपालिकाले गरिरहेकाले तेर्से माविलाई संरक्षण गर्न र दरबन्दी परिपूर्तिका लागि पालिकाले सक्दो सहयोग गर्ने पनि प्रतिबद्धता पनि व्यक्त गर्नुभयो । पालिकाले निजी स्रोतबाट कक्षा १० सम्म दिवा खाजाको व्यवस्था गरिरहेको र अभिभावकको माग अनुसार कक्षा १२ सम्म दिवा खाजाको व्यवस्थापनको तयारिका लागि छलफल भईरहेको साथै विभिन्न खेलकुद तथा नृत्यको लागि प्रशिक्षक नियुक्तिको तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । त्यस्तै शिक्षण सिकाई सहजकर्ताको लागि आवेदन भए पनि दरखास्त नआएको उहाँले बताउनुभयो ।

साथै पालिकामा बालमैत्री कक्षा सञ्चालनका लागि आवश्यक बजेट विनियोजन गरी काम भइरहेको, जेहेन्दार तथा निम्न वर्गीय विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था गरेको, शिक्षा क्षेत्रको गुरुयोजना बनाउने तयारी भइरहेको, विद्यार्थी संख्या कम रहेका विद्यालयहरू मर्ज गर्ने तयारी भइरहेको, पालिकाले स्थानीय पाठ्यक्रम सुरु गरिसकेको पनि उहाँले जानकारी दिनुभयो ।
त्यस्तै कार्यक्रममा मेलम्ची नगरपालिकाका निबर्तमान प्रमुख डम्बर अर्यालले विद्यालयमा शिक्षण सिकाइको गुणस्तर वृद्धिको लागि अभिभावकहरूको भूमिका महत्त्वपूर्ण रहने भए पनि अभिभावकहरूको उपस्थिति न्यून हुने गरेको बताउनुभयो ।

शैक्षिक सिकाइका लागि तेर्से मावि एउटा थलो हुनसक्ने बताउँदै अरू भन्दा फरक रहे पनि धेरै कुरा सिक्न बाँकी रहेको उहाँको भनाई छ । विद्यार्थी संख्या कम हुँदै जाने क्रममा पनि तेर्से माविमा सन्तोषजनक रहेको बताउँदै विद्यालय अझै पनि जोखिममा रहेको उहाँले बताउनुभयो ।
स्वागत मन्तब्य राख्दै विद्यालयका पूर्व प्रधानाध्यापक तथा शिक्षक कृष्ण ढुंगानाले विद्यालयको अवस्था, शैक्षिक गुणस्तर, आवश्यकता र भावि योजनाहरूको बारेमा प्रस्ट्याउनु भएको थियो । विद्यालयको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रधानाध्यापक योग बहादुर अर्यालले बिद्यालयमा हाल ५३७ विद्यार्थी रहेको जानकरी दिनुभयो । कार्यक्रमको अवसरमा टिम नेपालको तर्फबाट १० लाख ४० हजार बराबरको शैक्षिक सामाग्री सहयोग गरेको छ ।

विद्यालयले २०७९ सालमा ए प्लस ल्याउने विद्यार्थीहरुलाई सम्मान गरेको छ । वार्षिकोत्सवको अवसरमा ३।६ भन्दा धेरै जिपिए ल्याएर ए प्लस ल्याउने रोनिशा देउजा,अनिता कुमारी शाह, बिरजित तामाङ, रन्जिता ढुङ्गाना,र युनेश तामाङलाई आज सम्मान गरिएको हो । सोही अवसरमा सम्बन्धित विषयमा बढी जिपिए ल्याउने विषय शिक्षक राजन लामिछाने (अङ्ग्रेजी) र भीम तामाङ (गणित) लाई नगद १० हजार सहित कदर पत्रले सम्मान गरिएको हो । आगामी बर्सहरूमा पनि अन्य विद्यार्थीहरूलाई हौसला प्रदान होस् भनेर विद्यार्थीहरूलाई सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक योगबहादुर अर्यालले जानकारी दिनुभयो । यसैबिच विद्यालयको उत्कृष्ट शिक्षकको रूपमा राजन लामिछाने लाई घोषित गर्दै सम्मान गरिएको छ ।
यसैबीच विद्यालयको उत्कृष्ट शिक्षकको रुपमा राजन लामिछाने लाई घोषित गर्दै सम्मान गरिएको छ । कार्यक्रमको अवसरमा पुर्व शिक्षक मिलन जोती,रामबहादुर देउजा,बालसुन्दर देउजा,विद्यालयका सहयोगी संस्थाका प्रतिनिधिहरु टिम नेपालका अध्यक्ष निलबहादुर साहि, तार्गेट हिमालयका अध्यक्ष सुजन तामाङ, फ्रेण्स अफ हिमालयन चिल्ड्रेनका अध्यक्ष अनिल तामाङ लगायतलाई सम्मान गरिएको थियो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्णबहादुर थापाको सभापतित्वमा भएको कार्यक्रममा वडा अध्यक्षहरू प्रेम बहादुर तामाङ, किरण दिप खड्का, पूर्व विव्यस अध्यक्ष निल बहादुर शाही, निर्वाचित जनप्रतिनिधिहरू, पूर्व जनप्रतिनिधिहरू छिमेकी विद्यालयका प्रधानाध्यापक तथा विव्यास अध्यक्ष लगायतको उपस्थिति रहेको थियो ।