रेडियाे मिसन, पाँचपोखरी
सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्पाल गाउँपालिकाको प्रशासनिक भवन पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ । आज एक कार्यक्रमका पालिकाको नव निर्मित प्रशासनिक भवनको उद्घाटन गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पालिकाको सुविधा सम्पन्न भवनबाट नागरिकले छिटो, छरितो र सहज सेवा पाउनुपर्नेमा जोड दिनुभयो । विविध सकारात्मक काम गरिरहेको पालिकाले थप काम गर्न बाँकी रहेकोले हातमा हात र साथमा साथ गरेर अघि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो। हरेक कुराको रचना गर्नेहरूको ठाउँ पाँचपोखरी भएको उहाँले बताउनुभयो । पाँचपोखरीको अर्गानिक उपजहरू बजारसम्म ल्याइ ब्रान्डिङ गर्नतर्फ लाग्न सकेमा गाउँमा नै बसेर अम्दानि हुने उहाँको भनाइ थियो । यसपटक पाँचपोखरी हेर्ने धोको बाँकी रहेकाले फेरि पनि आउने बताउनुभयो । सिन्धुपाल्चोकसँग गहिरो र लामो सम्बन्ध रहेको बताउँदै पाँचपोखरीको एउटै माग बाटो कालोपत्रेका लागि आज नै प्रधानमन्त्रीसँग कुरा गर्ने बताउनुभयो । पाँचपोखरीको समृद्धिका लागि आफूले सहयोग गर्ने बताउनुभयो । पाँचपोखरीमा सम्भावना बोकेका व्यवसाय तथा उत्पादनमा जोड दिई पालिकालाई समृद्ध बनाउन सकिने उहाँको भनाइ थियो । सेवा सुविधा पुर्याउन सकेमा पाँचपोखरीका हरेक ठाउँले पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने उहाँले बताउनुभयो ।
फरक प्रसङ्गमा बोल्दै पूर्व प्रधानमन्त्री ओलीले सरकार एमालेले देश बनाउँछ भनेर बनेको नभइ एमालेको नेतृत्वमा रहेको सरकारले गरेको काम देख्न नसकेर गठबन्धन बनेको टिप्पणी गर्नुभयो । यहाँको विकास गरी श्रोत साधनको उपयोग गर्नुपर्ने उहाँको भनाइ थियो । बैगुनी काठमाडौँलाई पानी दिएर गुनले मार्नुपर्ने उहाँको भनाई छ । साथै देश रेमिटेन्सले नभई आम्दानीले चल्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा बोल्दै पूर्व कानुनमन्त्री शेर बहादुर तामाङले पाँचपोखरीमा मेलम्ची भोताङ सडकको आफूहरू सरकारमा हुँदा अघि बढे पनि हाल आएर रोकिएको बताउनुभयो। एमालेको सरकारले पाँचपोखरीलाई सय वटा पर्यटकीय गन्तव्य भित्र पार्न सफल भएको तामाङले बताउनुभयो । क्रमागत योजनाहरूमा थोरै मात्र बजेट पठाउनु बाहेक ठुला योजनाहरू पार्न सरकारले ध्यान नदिएको उहाँको भनाइ थियो । याङ्रीको पानी काठमाडौँ लानको लागि पाँच पोखरीको लागि मेलम्ची, भोताङ, याङ्रि सडक मेलम्ची, बाँसखर्क, याङ्रीका र चौतारा भोटेनाम्लाङ्ग भोताङ सडक कालोपत्रे एक सूत्रीय माग भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा आफ्नो भनाई राख्दै गाउँपालिका अध्यक्ष टासी लामाले हिमाली गाउँपालिकामा बहु पहिचान बोकेको प्रशासनिक भवनले सेवा प्रवाह गर्न सहज हुने बताउनुभयो । धेरै सम्भावना बोकेको पालिकालाई समृद्ध बनाउन केही कामहरू भइसकेको र केही काम बाँकी रहेको उहाँले बताउनुभयो । पालिकामा अखाद्य बस्तुको रोक, जङ्क फुड निषेधित विद्यालय, अपाङ्गमैत्री संरचना, अर्गानिक प्रमाणीकरण लगायतका असल अभ्यास सुरु गरिसकेको अध्यक्ष लामाले बताउनुभयो । बागमती प्रदेशकै नमुना विद्यालय थाङ्पाल भ्याली विद्यालय निर्माण गरी पठनपाठन भइरहेको पनि उहाँले जानकारी दिनुभयो। साथै पालिकाका दुई वटा सडकहरू निर्माणका लागि कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्ष लामाले आग्रह गर्नुभएको छ ।
उद्घाटन कार्यक्रमको अवसरमा आफ्नो भनाई राख्दै गाउँपालिकाका उपाध्यक्ष सुनिता अधिकारीले धेरै लामो समयपछि पालिकाको प्रशासनिक भवन निर्माण गर्न सफल भएको बताउनुभएको छ । स्वास्थ्य संस्थाका भवनहरू, वडा कार्यालय लगायतका संरचना निर्माण गरे पनि सडकको अवस्था सुधारको काम अझै बाँकी रहेको उहाँले बताउनुभयो । पर्यटनको प्रचुर सम्भावना बोकेको पालिकालाई पर्यटनको माध्यमबाट नै सकिनेमा उहाँले जोड दिनुभयो ।
स्वागत मन्तव्य राख्दै प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुँइकेलले पाँचपोखरी थाङ्पाल गाउँपालिका धार्मिक, सांस्कृतिक तथा बहु पहिचान बोकेको पालिका भएको बताउनुभएको छ । पालिकाको प्रशासनिक भवन उद्घाटन हुनु गौरवको कुरा भएको उहाँले बताउनुभयो ।
गाउँपालिकाको प्रशासनिक भवन कुल ११ करोड ९ लाख ४३ हजार १६१ रुपैयाँ ६४ पैसामा बनेको हो । कार्यक्रमको अवसरमा पाँचपोखरी थाङ्पाल गाउँपालिकाको भवन निर्माणका लागि ४४ रोपनी १० आना १ पैसा १ दाम जग्गा दान गर्नुहुने ६३ जनालाई सम्मान गरिएको थियो । हाल पालिकाले ५ वटा बहु पहिचान् भवन निर्माण भएको छ, जसमा प्रशासनिक, जनप्रतिनिधि, क्यान्टिन, पुस्तकालय र सङ्ग्रहालय रहेका छन् ।