मेलम्ची ।
राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको सन्दर्भमा जेरियाट्रिक (ज्येष्ठ नागरिक) स्वास्थ्य तथा बुढ्यौली स्याहारका विषयमा नगरपालिकास्तरीय सचेतनामुलक कार्यक्रम मेलम्चीमा सम्पन्न भएको छ ।

मेलम्ची नगरपालिकाको आयोजना र जेरियाट्रिक सोसाइटी अफ नेपालको प्राविधिक सहयोगमा कार्यक्रम गरिएको मेलम्ची नगरपालिकाका राजस्व शाखा प्रमुख राजेन्द्र दुलालले जानकारी दिनुभयो । सचेतनामुलक कार्यक्रमको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधान, प्रमुख प्रसाशकिय अधिकृत निमेष मिश्र लगायतले उद्घाटन गर्नुभएको थियो ।

कार्यक्रममा स्वागत मन्तब्य राख्दै मेलम्ची नगरपालिकाका प्रशासकीय अधिकृत झपेन्द्रराज खरेलले बुढ्यौली भएको बेलामा कसरी जिउने, कसरी सहजीकरण गर्ने भन्ने विषयमा कार्यक्रम गरिएको जानकारी दिनुभयो । ज्येष्ठ नागरिक संग सम्बन्धित कार्यक्रमको लागि मेलम्ची नगरपालिकाले १० लाख भन्दा बढी रकम विनियोजन गरेको खरेलले बताउनुभयो ।

कार्यक्रमलाई सम्वोधन गर्दै मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य शिविर गर्न प्रत्येक वडामा १० हजारका दरले रकम पठाइएको बताउनुभयो । नगरपालिकाले नगरस्तरिक भजन प्रतियोगीता गर्ने उहाँको भनाई छ । मेलम्ची नगरपालिकामा २७५३ ज्येष्ठ नागरिक छन ।

मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्रले ज्येष्ठ नागरिकहरूको वडा वडामा पुगेर निशुल्क स्वास्थ्य जाँच गर्ने बताउनुभयो । नि:शुल्क सुगर र प्रेसरको जाँच गरिदिने उहाँको भनाई छ ।
ज्येष्ठ नागरिक सञ्जाल मेलम्ची नगरपालिकाका अध्यक्ष एकादत्त धितालले गत बर्ष नगरपालिकाको सबै वडामा गएर विपन्न ज्येष्ठ नागरिकको पहिचान गरिएको जानकारी दिनुभयो । आगामी दिनमा जेष्ठ नागरिकका समस्या र मागहरू पहिचान गर्दै जाने उहाँले बताउनुभयो ।
जेरियाट्रिक सोसाइटी अफ नेपालका प्रतिनिधि डा. होमनाथ चालिसेले ज्येष्ठ नागरिकको स्वास्थ्य तथा बुढ्यौली स्याहारका विषयमा प्रशिक्षण दिनुभएको थियो ।
जेरियाट्रिक सोसाइटी अफ नेपालका युवराज रोकाले ज्येष्ठ नागरिकको स्वास्थ्य समस्या, सामाजिक समस्या, परिवारको कर्तब्य, अधिकार लगायतका विषयमा अवगत गराउनुभएको थियो । त्यस्तै ज्येष्ठ नागरिकहरूका लागि विभिन्न पालिकाहरूले गरेको अभ्यासहरूको बारेमा अवगत गराउनुभएको थियो । दिवा सेवा केन्द्र बनाएर, स्थानिय निकायले नीति नियम निर्माण गरेर, ज्येष्ठ नागरिकहरूको तथ्याङ्क राखेर विभिन्न पालिकाहरूले काम गरिरहेको रोकाले जानकारी दिनुभयो ।
कार्यक्रममा वडा अध्यक्ष, ज्येष्ठ नागरिक, संस्थाका प्रतिनिधि नगरपालिकाका स्वास्थ्य शाखा प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।


