रेडियो मिसन, नवलपुर ।
इन्द्रावती गाउँपालिकाले ‘ग’ वर्गका अपाङ्गता भएकाहरुको लागी भत्ता दिने भएको छ । आइतवार ३२ औँ अन्तराष्ट्रिय अपाङ्गता दिवसको अवसरमा गाउँपालिका स्तरीय अपाङ्गता समन्वय समितिको आयोजनामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालले उक्त कुरा बताउनुभएको हो ।
“अरु पालिकाले ग वर्गको अपाङ्गहरुलाई भत्ता दिएको छैन, ‘क’ र ‘ख’ वर्गकालाई माथीको सरकारले दिन्छ, ग वर्गकोलाई चाही माथीको सरकारले दिँदैन, त्यसैले चालु आर्थिक वर्षबाटै इन्द्रावती गाउँपालिकाले ‘ग’ वर्गका अपाङ्ग साथीहरुलाई पनि भत्ता उपलब्ध गराउने हामिले निर्याय गरेका छौँ,” अध्यक्ष नेपालले भन्नुभयो ।
निर्वाचित भएर आएपछि गाउँपालिका तथा वडा स्तरीय अपाङ्गता समन्वय समितिका गठन गर्न सफल भएको बताउँदै संस्थागत विकासको लागि नीति कार्यक्रममै समेटेर बजेट छुट्याएको उहाँले बताउनुभयो ।
सरकारको नीति अनुरुप सामाजिक सुरक्षा भत्ताहरु सम्बन्धित ब्यक्तिको बैँक खातामा पठाइने भएकोले बैँक सम्म आएर भत्ता लिन नसक्नेहरुको लागी सबै प्रकारका सामाजिक सुरक्षा भत्ता वडा कार्यलयबाटै वितरण गर्ने गरेको पनि जानकारी दिनुभयो ।