मेलम्ची नगर अस्पताल मेलम्चीमा फिजियोथेरापी सेवा सुरु भएको छ । मेलम्ची नगर अस्पतालमै फिजियोथेरापी सेवा सुरु भएपछि नसा तथा हाड जोर्नीका समस्या भएका बिरामीको उपचारमा सहज हुने विश्वास गरिएको छ ।
टुकी संघ सुनकोसी र ह्यान्डिक्याप इन्टरनेशनल फेडेरेशन नेपालबिचको साझेदारीमा मेलम्ची नगर पालिकामा सञ्चालन भइरहेको अपाङ्गता भएका महिला तथा बालबालिका र संकटासन्न व्यक्तिहरूको शारीरिक पुनर्स्थापना तथा आर्थिक समावेशिता सेवामा पहुँच वृद्धि -AC–6_ परियोजना अन्तर्गत मेलम्ची नगर अस्पतालमा फिजियोथेरापी सुरु गरिएको टुकी सघंका कार्यकारी निर्देशक ज्ञानेन्द्रप्रसाद पौडेलले जानकारी दिनुभयो ।
मेलम्ची नगर अस्पतालमा फिजियो थेरापी सेवा केन्द्र स्थापना र सञ्चालन गर्न मेलम्ची नगरपालिका, ह्यान्डिक्याप इन्टरनेशनल फेडेरेसन नेपाल र टुकी संघ सुनकोसीबिच भएको त्रिपक्षीय सम्झौता अनुसार मेलम्ची नगर अस्पतालको फिजियोथेरापी सेवा केन्द्रका लागि र अपाङ्गता भएका महिला तथा बालबालिका र संकटासन्न व्यक्तिहरूको शारीरिक पुरस्थापनाका लागि गत साउन १८ गते सम्झौता भएको थियो ।
फिजियोका लागी आवश्यक सम्पूर्ण सामग्री अस्पताललाई हस्तान्तरण गरिसकिएको परियोजना संयोजक महेन्द्र कार्कीले जानकारी दिनुभयो । आज नगर प्रमुख आइतमान तामाङ,उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र लगायतको टोलीले फिजियोथेरापी कक्षको अनुगमन तथा निरीक्षण गर्नुभएको थियो ।
अनुगमनका क्रममा फिजियोथेरापिष्ट सीमा कोइरालाले ठाउँ अभावका कारण सबै सेवा दिन सम्भव नभएको बताउनुभयो । उहाँले फिजियोको लागी उपयुक्त स्थान भएमा फिजियोथेरापी सेवाको अभावमा बिरामीलाई अन्यत्र रेफर गर्नुपर्ने बाध्यता अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो । अस्पतालका प्रमुख डाक्टर श्रीराम अर्याल र प्रशासन प्रमुख ज्ञानेन्द्र सिग्देलले पनि व्यवस्थापनकै समस्या रहेको सुनाउनुभयो ।
अनुगमन पश्चात् नगर प्रमुख तामाङले तत्कालको लागी अहिलेकै स्थानबाट सेवा सुरु गर्ने र निकै समस्या भएमा भाडामा लिएर भए पनि सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले अहिले लगानी गरेर अस्पताल निमार्णमा लाग्न सम्भव नभएको बताउनुभयो । निमार्णाधिन नगर अस्पतालको कार्य सम्पन्न भएपछि समस्याको समाधान हुने विश्वास लिइएको प्रमुख तामाङले बताउनुभयो । संस्थाले ८ लाख ८८ हजार बराबरको आवश्यक सामग्री अस्पताललाई हस्तान्तरण गरेको छ ।