नवलपुर,
सरसफाइ तथा अन्तरकृयात्मक कार्यक्रम गरि इन्द्रावती गाउँपालिकामा संविधान दिवस मनाइएको छ । इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कनाथ नेपालको अध्यक्षतामा दिवस मनाइएको हाे ।
संविधान दिवसको अवसरमा दिगो शान्ति, विकास, सुशासन, समृद्धि र संविधानको पूर्ण कार्यान्वयनमा राजनीतिक दल र नागरिक समाजको भूमिका विषयक अन्तरकृयात्मक कार्यक्रम तथा सरसफाइ कार्यक्रम गरिएको हाे । कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, संघ संस्थाका प्रतिनिधि, विद्यालयका प्रतिनिधि, प्रहरी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमको पहिलो चरणमा भृकुटी पार्क सरसफाई गर्दै इन्द्रावती गाउँपालिका आसपासका बजारकाे सरसफाइ गरिएकाे थियाे । दाेस्राे चरणमा औपचारिक कार्यक्रम अन्तर्गत राजनीतिक दल र नागरिक समाज बिच अन्तरक्रिया गरिएको थियो ।
कार्यक्रममा आफ्नो भनाई राख्दै गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले सामन्ती एकात्मक एकीकृत शासन व्यवस्था ढलेर नेपालमा संघीय लोकतान्त्रीक शासन व्यवस्था लागू भएसँगै जनताका मौलिक हक स्थापित हुँदै संघीयता, धर्मनिरपेक्षता, स्वतन्त्रता जस्ता कुराहरू याे संविधानले दिएको बताउनुभयो ।
गाउँपालिका प्रवक्ता शशिनाथ आचार्यले संविधानले नागरिकलाई अधिकार दिने र शासकलाई शक्ति दिने बताउनुभयो । नेपालकाे संविधान संसारकै उत्कृष्ट रहेको भन्दै यश संविधानले विभिन्न जातजाति, भाषाभाषीको प्रतिनिधित्व गरेको बताउनुभयो । संविधानमा ३१ वटा मौलिक हक तथा राज्यका नीतिगत सिद्धान्तहरू सुत्रवद्व गरिएको उहाँले बताउनुभएको छ । देशलाई सही दिसामा लैजान याे संविधान कार्यान्वयन हुन जरूरी रहेको उहाँको भनाई छ ।
त्यस्तै कार्यक्रममा शुभकामना मन्तव्य राख्दै नेपाली कांग्रेस इन्द्रावती गाउँपालिका सभापति जीवन कुमार थापा मगरले संविधानले स्वतन्त्रता दिएको उल्लेख गर्नुभयो । “हामीलाई व्यापार गर्ने, उद्योग खोल्ने अधिकार दिएको छ तर हामी किन व्यापार गर्न नलागेर विदेश तिर लागिरहेका छौँ “, उहाँले भन्नुभयो । नेपालको संविधान विश्वकै सर्वोत्कृष्ट संविधान भएपनि कार्यन्वयन गर्ने व्यक्ति र निकाय उत्कृष्ट हुन नसकेको उहाँको भनाई छ । इन्द्रावती गाउँपालिकामा पनि नीतिगत रूपमा काम होस तर बाह्यशक्ति हावी नहोस् भन्दै सुझाव समेत दिनुभयो ।
नेकपा एमाले इन्द्रावती इन्चार्ज डबले लामाले नेपालको संविधान जारी नहोस् भनेर देशी विदेशी शक्ति हावी भएको तर त्यसका बावजुद पनि तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले संविधान ल्याउन भूमिका खेलेको बताउनुभयो । त्यस्तै नेकपा माओवादी केन्द्र पार्टी प्रतिनिधि, तिलक रोकाले संविधान बनेपनि सानातिना ऐन बन्न नसक्दा पूर्ण कार्यान्वयन हुन नसकेका बताउनुभयो । नेपालको संविधान २०७२ जारी भएपछि जनताका हक अधिकारहरू स्थापित भएको उहाँको भनाई छ ।
इन्द्रावती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद शर्माले २००७ साल देखि ७२ सम्मको संविधानको बारेमा अवगत गराउनुभएको थियो । २०७२ काे संविधान जारी भएसँगै नेपालमा स्वतन्त्रता र जनताका हक अधिकार स्थापित भएको उहाँले बताउनुभयो ।