कर्णालीमा आँखा उपचार सेवा विस्तार गर्न सम्झौता

* # समाचार समाज स्वास्थ्य

रेडियो मिसन ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र तिलगंगा आँखा प्रतिष्ठानबीच आँखा उपचार सेवा विस्तार गर्नेबारे सम्झौता भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री मोहनबहादुर बस्नेतको उपस्थितिमा नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

समझदारीपत्रमा कर्णाली प्रदेशका जनतालाई बृहत् आँखा उपचार सेवा उपलब्ध गराउन तिलगंगा आँखा प्रतिष्ठानले कर्णाली स्वास्थ्य प्रतिष्ठानलाई अत्याधुनिक स्वास्थ्य उपकरण उपलब्ध गराउने सम्झौता भएको हो ।

मन्त्री बस्नेतले उक्त सम्झौताले कर्णाली प्रदेशकै जनताको आँखा उपचार सेवामा सहज पहुँच पुग्ने विश्वास व्यक्त गरे। उनले आँखा उपचारका लागि रणनीति बनाएरै सहकार्य र सहजीकरण गर्न तयार रहेको प्रतिबद्धता जनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘दुई प्रतिष्ठानबीचको सहकार्यले कर्णाली प्रदेशका गरिब, विपन्न, निमुखा र अप्ठ्यारामा परेका नागरिकले आँखाको सहज उपचार पाउनेमा हामी विश्वस्त छौँ । मन्त्रालयले गर्न सक्ने सबै सहयोग र सहजीकरण गर्न तयार छ ।’

तिलगङ्गा आँखा प्रतिष्ठानका संस्थापक एवं निर्देशक डा सन्दुक रुइतले कर्णाली स्वास्थ्य प्रतिष्ठानअन्तर्गतलाई अत्याधुनिक स्वास्थ्य उपकरण उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले प्रतिष्ठानअन्तर्गत नेत्र रोग उपचार विभागलाई सशक्त बनाउँदै समग्र कर्णाली प्रदेशमा आँखा उपचार सेवालाई विस्तार गर्ने बताउनुभयो ।

Leave a Reply