साहित्यकार, समाजसेवी, चित्रकार एवम् राजनीतिक धरोहर भद्रकुमारी घले सम्मानित हुनुभएको छ ।
लि : ल फङ ( घले समाज ) सिन्धुपाल्चोकले शनिबार,काठमाडौमा घलेलाई अभिनन्दन गरेको हो । समाजका अध्यक्ष रामबहुदुर घलेले देवीनगरस्थित भद्रकुमारी घले सेवा सदनमा घलेलाई दोसल्ला ओढाएर सम्मानपत्र अर्पण गर्नुभएको समाजका सचिब नेत्र घलेले बताउनुभयो ।
सो अवसरमा अभिनन्दन हुनुभएकी घलेले जिन्दगीभर आफूले सामाजिक कार्यका लागि प्रयोग गर्दै आएको सेवा सदनको सम्पत्तिमाथि स्थानीय सरकारको बक्रदृष्टि परेको हुनाले सो जोगाउनका लागि सबैको सहयोग अपरिहार्य रहेको बताउनुभयो । पत्रकार महासंघ सिन्धुपाल्चोकका अध्यक्ष जीवन श्रेष्ठले घलेको राजनीतिक, सामाजिक, साहित्यिक र चित्रकारिता जीवनको चर्चा गर्दै घले राष्ट्रकै निधी भएको उल्लेख गर्नुभयो ।
घले समाजका सचिव नेत्र घले, आकृति घलेले साहित्यकार घलेले बिविध क्षेत्रमा पुर्याएको योगदानबाट अहिलेको पुस्ताले अनुकरण गर्नुपर्ने बताउनुभयो । १९८८ सालमा जन्मनु भएकी घलेको विविध विषयमा लेखिएको १९३ वटा पुस्तक प्रकाशन छन् । २०१८ सालमा राजनीतिक जीवनमा होमिनु भएकी घले राष्ट्रिय पन्चायत सदस्य र मन्त्री समेत हुनुभयो । सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय उहाँ पछिल्लो समय भने लेखन र सामाजिक सेवामा समर्पित हुनुहुन्छ ।