उज्ज्वल तारा सिर्जनशील महिला संस्थाको आयोजना तथा मेलम्ची नगरपालिकाको सहयोगमा मेलम्ची नगरपालिका वडा नम्बर २ भोटेचौरमा बाल बिबाह न्यूनीकरण सम्बन्धि सडक नाटक प्रदर्शन गरिएको छ ।
पछिल्लो समय समाजमा बढ्दै गएको बाल बिबाहलाइ न्यूनीकरण गर्दै समाजमा सचेतना फैलाउने उद्देश्यले भोटेचौर स्थित जाल्पादेवि माध्यमिक विद्यालयमा नाटक प्रदर्शन गरिएको संस्थाका अध्यक्ष नमुना कोइरालाले जानकारी दिनुभयो ।
बालबालिका हरुलाइ सानै उमेरमा बिबाह गर्न हुँदैन भन्ने ज्ञान वृद्धि गर्नका लागि मनोरञ्जनका साथै बाल बिबाह बाट हुने समस्या , भोग्न पर्ने पिडा लगायतका बारेमा जानकारी गराइएको नगरपालिकाकि कर्मचारी अम्बिका डोटेलले बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि वडा नम्बर २ का वडा अध्यक्ष नगेन्द्रप्रसाद खतिवडाले उत्कृष्ट नाटक प्रदर्शन गरेकोमा आभार प्रकट गर्नुभयो । उहाँले नाटकले दिएको सन्देश निकै महत्त्वपूर्ण रहेको बताउदै थप सफलताको लागी कामना गर्नुभयो ।
विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष बिष्णु ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा वडाका जनप्रतिनिधि ,कर्मचारी स्थानीय लगायतको उपस्थिति रहेको नगर बाल अधिकार समितिका सदस्य कल्पना चालीसेले जानकारि दिनुभयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हरिहर आचार्य लगायतले सुभकामना व्यक्त गर्नुभएको थियो । संस्थाले यसअघि मेलम्ची १० शिखरपुरमा नाटक प्रदर्शन गरिसकेको छ ।