रेडियो मिसन, मेलम्ची ।
मेलम्ची नगरपालिका वडा नं ७ स्थित श्री बाल सुधार माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समिती गठन प्रकिया सम्पन्न भएको छ । शिक्षा शाखाका प्रतिनिधि सुनिल कुमार भण्डारीको प्रमुख आतिथ्य र वडा नं ७ का वडा अध्यक्ष तथा वडा शिक्षा समिती संयोजक पासाङ तामाङको विशेष आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

बुधबार भएको भेलाबाट विद्यालय व्यवस्थापन समिती अध्यक्षमा नवराज सुवेदी चयन हुनुभएको प्रधानाध्यापक सुर्यप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । मेलम्ची नगरपालिका शिक्षा शाखाका प्रतिनिधि भण्डारीले नगरपालिका भरिका १४ वटा विद्यालयमा तेश्रो संसोधन अनुसार विद्यालय व्यवस्थापन समिती गठन प्रकिया सम्पन्न भएको जानकारी दिनुभयो ।
श्री बाल सुधार माध्यमिक विद्यालयमा ६०० विद्यार्थी अध्ययनरत छन् । विनासकारी भुकम्प पछि विद्यालयको भवन पुर्नस्थापना रहर लाग्दो भएको तर अध्यापन चित्त बुझ्दो र गुणस्तरीय नभएको अभिभावकले गुनासो गर्ने गरेका छन् । वडा अध्यक्ष तथा वडा शिक्षा समितीका संयोजक तामाङले विद्यालयको सुधारमा वडा प्रतिबद्ध रहेको र विद्यालयबाट भएको त्रुटीहरुलाई वडा शिक्षा वैठकमा विशेष जोड दिने बताउनुभयो । उहाँले अभिभावक स्वंयमले पनि आफ्नो बालबालिकाको शिक्षामा बढि जोड दिन सुझाव दिनुभयो । विद्यालय व्यवस्थापन समितीका निवर्तमान अध्यक्ष जित वहादुर तामाङले शिक्षकहरुको गुटबन्दीले विद्यालयको शैक्षिक स्तरमा सुधार हुन नसकेको गुनासो गर्नुभयो । अध्यापन भन्दा पनि पारिश्रमिकमा शिक्षकहरुको ध्यान केन्द्रित भएको उहाँको भनाई छ ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष सुवेदीले गुणस्तरीय शिक्षा प्रदानको लागी आफुले सधैं पहल गर्ने बताउनुभयो । उहाँले खस्कदो शिक्षालाई ब्यबस्थित प्रभावकारी ढंगले अगाडि बढाउनका लागी आफु सक्रिय हिसाबले अगाडि बढ्ने प्रतिबद्धता जनाउनु भयो । समितिको सदस्यहरुमा मारलामा तामाङ, सरिता तामाङ ,ज्यान बहादुर तामाङ, र लीला भारती चयन हुनुभएको छ । सो कार्यक्रममा छिमेकी विद्यालयका शिक्षक तथा राजनीतिक दलका प्रतिनिधिमण्डलको समेत उपस्थिती रहेको थियो ।