रेडियो मिसन, मेलम्ची ।
बाल सञ्जाललाई नेतृत्व विकास तथा उद्घोषण सम्बन्धी ३ दिने तालिम मेलम्चीमा सुरु भएको छ । मेलम्ची नगर बाल सञ्जालको आयोजना र मेलम्ची नगरपालिकाको आर्थिक सहयोगमा भएको कार्यक्रममा नगरपालिका भित्रका बाल सञ्जालमा आवद्ध बालबालिकाहरुको सहभागिता रहेको छ ।
कार्यक्रममा मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधानले सिक्ने कुरालाई प्राथमिकता दिन सुझाव दिदै एउटा जिम्मेवारी बोक्न सक्ने सामर्थ्य राख्न आग्रह गर्नुभयो । उहाँले नेतृत्व विकास गर्दै विद्यालय, समाज, यो सिङ्गो राष्ट्रलाई सकारात्मक परिवर्तन गर्नका लागि अहम् भूमिका खेल्न आग्रह गर्नुभयो । उहाँले बालमैत्री वडा घोषणा गर्नका लागि नगरपालिकाले काम गरिरहेको उल्लेख गर्दै वडा बाल सञ्जाललाई सक्रिय भएर लाग्न आग्रह गर्नुभयो ।
कार्यक्रमको उद्देश्य बारे प्रष्ट पार्दै नगरपालिकाका प्रशासकिय अधिकृत झपेन्द्र खरेलले यो तालिमले व्यक्तित्व तथा क्षमता विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा अध्यक्ष नेपालीले ३ दिनमा सिकेका कुराहरु वडा तथा आफ्नो विद्यालयमा गएर लागू गर्न आग्रह गर्नुभयो । ९ गते सम्म सञ्चालन हुने तालिममा वडा तथा नगर सञ्जालका ३५ जना बालबालिकाको सहभागिता रहेको छ ।