रेडियो मिसन, मेलम्ची ।
मेलम्ची नगरपालिकाका जनप्रतिनिधिहरु र सरोकारवालाहरुलाई विपद् जोखिम न्यनिकरण,तथा व्यवस्थापन सम्बन्धी क्षमता अभिवृद्धि तालिम मेलम्चीमा सुरु भएको छ । रीड नेपालको आर्थिक तथा प्राविधिक सहयोग तथा मेलम्ची नगरपालिकाको आयोजनामा हुने तालिममा नगरपालिकाका १३ वटै वडाका २–२ जनप्रतिनिधि र नगरपालिका भित्रका सामुदायिक विपद् व्यवस्थापन समितिका प्रतिनिधिहरुको सहभागिता रहेको विपद् तथा वातावरण शाखा प्रमुख सुजन दुलालले जानकारी दिनुभयो ।
कार्यक्रमकी प्रमुख अतिथि मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधानले मेलम्ची नगरवासिले विगत देखिनै थुप्रै विपद्को सामना गर्नुपरेको उल्लेख गर्नुभयो । उपप्रमुख प्रधानले भूकम्प, कोरोना, बाढी पहिरो भनेको प्रतिनिधि मुलक घटना मात्र भएकाले यस्ता थुप्रै विपद्को सामना गर्दै अगाडि बढ्नु र आज सम्मपनि यसको व्यवस्थापन र न्युनिकरणका लागि काम नहुनु दुख्द भएको बताउनुभयो । कार्यक्रममा वडा नम्बर १० का वडा अध्यक्ष अमृत खनालले विगतमा भोगका विपद्का घटनाबाट पाठ सिक्दै अगाडि बढ्नुको विकल्प नभएको बताउनुभयो ।
ग्रामिण शिक्षा तथा वातावरण विकास केन्द्रका कार्यक्रम संयोजक श्रीकृष्ण चौधरीले कार्यक्रमको उद्धेश्यबारे प्रष्ट पार्नुभयो । तालिममा बाढी पहिरो,भूकम्प,महामारी,चट्याङ तथा विभिन्न प्राकृतिक प्रकोपबाट बच्ने र बचाउने तरिका बारेमा जानकारी गराइने दुलालले बताउनुभयो ।
तालिम उद्घाटन कार्यक्रममा नगर पालिकाका प्रमुख प्रशासकिय अधिकृत अमृत कुमार धिताल, वडा नम्बर ९ का वडा अध्यक्ष किरणदिप खड्का लगायतको उपस्थिती रहेको थियो ।