रेडियो मिसन, मेलम्ची ।
मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङले सबै जातजतिको संस्कृति संरक्षण तथा सम्पदा पुन निर्माणकार्यमा नगरपालिकाले सदैव सहयोग गर्ने बताउनुभएको छ । मेलम्ची नगरपालिका –१२, गिराञ्चौरमा बौद्ध धर्म परम्परा अनुसार नम्डोललिङ साङ्ग गुम्बामा मुर्ति शिलान्यास (स्हुङ चढाउने) तथा दान संकलन कार्यक्रममा आफ्नो भनाई राख्दैै नगर प्रमुख तामाङले समृद्ध नगर बनाउनका लागि मेलम्ची नगर लागि परेको बताउनुभएको हो ।
उहाँले गुम्बा निर्माणका लागि नगरले १५ लाख बिनियोजन गरेको बताउदै आगामी बर्षपनि सक्दो सहयोग हुने र गुम्बा तथा मुर्ती निर्माणका लागि आफ्नो एक महिनाको भत्ता ३८ हजार ६१० र त्यसमा थप गरि ५१ हजार १५१ ब्यक्तिगत सहयोग यसै हप्ता गर्ने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले समृद्ध नगर निर्माणका लागि पकेट क्षेत्र बनाएर काम गरिरहेको बताउँदै अनुदान वास्तविक किसानले नपाएकाले अब हरेक वडाबाट छानिएर आएका वडाका ९ जनालाई भैंसी तथा बाख्रा पालनमा १ लाख सम्म सहयोग गर्ने कार्यक्रम नगरले बनाएको उहाँको भनाई थियो । साथै दूध संगै तरकारी, मासुमा मेलम्चीलाई आत्मनिर्भर बनाइ निर्यात समेत गर्न सक्ने बाताबरण बनाउने बताउनुभयो ।