रेडियो मिसन, दुवाचौर ।
गोल्मेस्वर धाम संरक्षण, संर्वधन तथा व्यवस्थापनका लागी अक्षयकोष स्थापनाको उद्धेश्यले मेलम्ची नगरपालिका वडा नम्बर ७ दुवाचौरमा श्रीमद्भागवत सप्ताह ज्ञानमहायज्ञ सुरु भएको छ । पण्डित रमेश प्रसाद सुवेदीको मुखरावृन्दबाट हुने कथावाचन एवम् कृष्णप्रसाद पौडेल र रामकृष्ण सुवेदी ज्युबाट हुने पाठपारायणको श्रवणका लागि आयोजक गोल्मेस्वर धाम संरक्षण समितिले निमन्त्रणा गरेको छ ।
सप्ताहको आज मेलम्ची ७ दुवाचौर सेल्लेबाट बाजागाजा, भजन किर्तन सहित कलश यात्रा गर्दै गोल्मेश्वर मन्दिरमा पुगेपछि सप्ताहको शुभारम्भ गरिएको थियो । कलश यात्रामा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ, उपप्रमुख उमा प्रधान,वडा अध्यक्ष पासाङ दोङ लगायत स्थानिय भक्तजनहरुको सहभागिता रहेको थियो ।
कलशयात्र पछिको कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख आइतमान तामाङले गोल्मेस्वर धामको डिपिआर गर्ने जिम्मा नगरपालिकाले लिने बताउनुभयो । उपप्रमुख प्रधानले संस्कृती र संस्कार जोगाउन नगरपालिका सधै तयार रहेको बताउनुभयो ।
कार्यक्रममा बैद्धिक कर्मकाण्ड महासघंको संस्थापक अध्यक्ष स्वर्गिय पण्डित कृष्णप्रसाद सुवेदीको शालिक अनावरण समेत गरिएको थियो । यज्ञ व्यवस्थापन समितिका सहसंयोजक डाक्टर कृष्णप्रसाद सुवेदीको अध्यक्षतामा भएको एक कार्यक्रममा बैद्धिक कर्मकाण्ड महासघंको कार्यबाहक अध्यक्ष रामचन्द्र भण्डारीले धर्म र संस्कृतिको बारेमा जानकारी गराउनुभएको थियो । कलश यात्रामा चन्द्र प्रसाद कोइराला लगायतको टोलिले खैजडी भजन प्रस्तुत गर्नुभएको थियो ।