सिन्धु योङ स्टार युवा क्लबको आयोजना आजबाट सुरु भएको जिल्लास्तरीय भलिबल प्रतियोगितामा पाँच वटा खेलहरू सम्पन्न भएका छन्।
आज भएको उद्घाटन खेलमा आयोजक योङ स्टार युवा क्लबलाई हराउँदै जुगल गाउँपालिकाले विजय सुरुवात गरेको छ । आज भएको दोस्रो खेलमा गोल्मेश्वरी युवा क्लबले चौतारा साँगाचोकगढी नगरपालिका ४ लाई हराएको छ ।
त्यस्तै आज भएको तेस्रो खेलमा आयोजक समितिलाई पाँचपोखरी गाउँपालिकाले पराजित गरेको भने चौथो खेलमा गोल्मेश्वरी युवा क्लबलाई जुगल गाउँपालिकाले हराएको छ । आजको अन्तिम खेलमा मेलम्ची ७ सेल्लेले मेलम्ची २ लाई पराजित गरेको छ।
जिल्लाभित्रका १३ टोली सहभागी प्रतियोगिता माघ १८ गतेसम्म सञ्चालन हुने क्लबका अध्यक्ष सुनबहादुर घलेले जानकारी दिनुभयो । प्रतियोगिताको आज मेलम्ची नगरपालिकाका वडा नम्बर ९ का अध्यक्ष किरण दीप खड्काले उद्घाटन गर्नुभएको थियो। जनता माध्यमिक विद्यालयको खेलकुद मैदानमा भएको प्रतियोगिताका खेलहरू भोलि साढे ७ बजे देखि पुन: सुरु हुने पनि उहाँले जानकारी दिनुभयो ।