सिम्पालकाभ्रेमा सोनाम ल्होछार विशेष कार्यक्रम सम्पन्न 

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

रबिन दनुवार, नवलपुर ।
इन्द्रावती गाउपालिका वडा नम्बर १ सिम्पाल काभ्रेमा मन्जुश्री संबत २८५९ औँ ह्योई ल्हो विरालो वर्ष सोनाम ल्होछार २०७९ को अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा वृहत् सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । पूर्व स्वास्थ्य मन्त्री एवम् नेकपा एमाले स्थायी कमिटी सदस्य शेर बहादुर तामाङको प्रमुख आतिथ्यतामा र इन्द्रावती गाउपालिका अध्यक्ष झम्क नाथ नेपालको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । 

पूर्व स्वास्थ्य मन्त्री शेर बहादुर तामाङले जनजातिहरु शिक्षाको कमजोरीको कारण पछि पर्न बाध्य भएको भन्दै पढाइमा ध्यान दिन पर्ने आवश्यकता रहेको बताउनुभयो । शिक्षित समाजले नै समृद्ध समाजको परिकल्पना गर्न सकिने उहाँले बताउनुभयो । विशेषगरी तामाङ जातिहरु शिक्षामा पछि परेकोले नै धेरै अवसरहरुबाट बञ्चित हुन पुगेको तामाङको भनाइ थियो । 

गाउँपालिका अध्यक्ष झम्क नाथ नेपालले हाम्रो देश बहु जाति, बहु भाषिक र बहु सांस्कृतिक विविधता एकताको बन्धनमा बाधिएको देश रहेको बताउनुभयो । पालिकाको सबै धर्मावलम्बीहरुको विकास, संरक्षण र सुदृढीकरण गर्ने दायित्व पालिकाको रहेको उहाँले बताउनुभयो ।  कला, धर्म, संस्कृतिलाई पालिकाले विगतमा भन्दा पनि व्यबस्थीत बनाउँदै अगाडि बढेको उहाको दाबी थियो । आफूलाई पालिकामा अध्यक्ष पदमा निर्वाचित गराउने नागरिकहरु मध्ये ६० प्रतिशत जनजातिहरुकै भोटले निर्वाचित भएको उहाँले बताउनुभयो । जनजाति मात्र नभइ सबै जातजाति, भाषाभाषी, धर्मवालम्बिहरुको संस्कृतिहरुलाई पालिकाले एउटै दृष्टिकोणबाट हेरेको उहाँले बताउनुभयो ।

आदिवासी जनजाति महासंघ सिन्धुपाल्चोकका अध्यक्ष डबले लामाले सोनाम ल्होछार तामाङ जातिले नयाँ वर्षको रुपमा मनाउने पर्व रहेको बताउनुभयो । तामाङ संस्कृति लोपहुदै गएकाले यसलाई जगेर्ना गर्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।

Leave a Reply