बलेफी।
ठुलो छाँगामा क्यानोनिङ महोत्सव सम्पन्न भएको छ । बलेफी गाउँपालिका–३ मा अवस्थित ठुलो छाँगामा भदौ ३१ बाट चार दिन सम्म चलेको महोत्सवमा करिब ३०० जनाको सहभागिता जनाएका छन् । जसमध्ये ७० जनाले पहिलोपटक क्यानोनिङको अनुभव लिएका हुन् ।
क्यानोनिङ खेलको प्रचार–प्रसार गर्नु र यसलाई ग्रामीण पर्यटनसँग जोड्नु महोत्सव आयोजना गर्नुको मुख्य उद्देश्य भएको फेस्टिबल संयोजक प्रीतम गोले तामाङले बताए । गत वर्ष नै ठुलो छाँगामा क्यानोनिङका लागि पूर्वाधार तयार पारिएको र १२ जना स्थानीय युवालाई तालिम दिइएको उनले जानकारी दिनुभयो ।
गाउँपालिकाकी उपाध्यक्ष सरु लामा तामाङले गाउँपालिकाले साहसिक खेलकुदको गन्तव्य बनाउने उद्देश्यका साथ क्यानोनिङ र रक क्लाइम्बिङका लागि बजेट छुट्याएर काम सुरु गरेको बताउनुभयो ।
बलेफी गाउँपालिका–३ का वडा अध्यक्ष रितेश तामाङले सुकुटे आउने पर्यटकलाई क्यानोनिङ र हाइकिङको अनुभव दिन सकेमा स्थानीय अर्थतन्त्रमा सुधार हुने विश्वास व्यक्त गर्नुभयो ।
यस महोत्सवमा इन्सुहाङ राईले मुख्य प्रशिक्षकको भूमिका निभाएका थिए भने सुजन जिम्बा, संगम रुम्बा, दीपक तामाङ र अखिल तामाङले सहयोगी गाइडका रूपमा काम गर्नुभएको थियो । प्रशिक्षक राईका अनुसार ठुलो छाँगा क्यानोनिङका लागि निकै सम्भावनायुक्त स्थल हो । उहाँले अनुभवी गाइडको सहयोगमा क्यानोनिङ पूर्ण रूपमा सुरक्षित हुने बताउनुभयो ।