रेडियो मिसन ।
आजदेखि नेपाली काँग्रेसको ‘समुदायमा काँग्रेस’ अभियान सुरु भएको छ । शहीद दिवसको अवसर पारेर काँग्रेसले आजदेखि औपचारिक रूपमा अभियानको सुरुआत गरेको हो । अभियानअन्तर्गत आज सबै वडा तहमा कार्यक्रम हुने काँग्रेसले जनाएको छ ।
अभियानका लागि ७७ जिल्लामै केन्द्रीय प्रतिनिधि र ७ वटै प्रदेशमा शीर्ष नेताहरू खटाइएको छ । यही अभियानअन्तर्गत महामन्त्री गगनकुमार थापाले हुलाकी राजमार्ग वरपरका जिल्लामा ‘संवाद यात्रा’ सुरु गरिसकेका छन् ।
“समुदायमा काँग्रेस” अभियान अन्तर्गत नेपाली काँग्रेस सिन्धुपाल्चोकले पनि वडा तहसम्म प्रतिनिधि खटाउने भएको छ । वडा तह सम्म खटाउने प्रतिनिधि भने जिल्ला कार्यसमितिले तोक्ने जिल्ला प्रवक्ता नवराज भट्टराईले जानकारी दिनुभयो ।
“जिल्ला कार्यसमितिले आज भोलिमै प्रतिनिधि छनौट गर्छौँ, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, जिल्ला कार्य समिति सदस्य, पूर्व पदाधिकारी, क्षेत्रीय कार्य समिति पदाधिकारी सदस्य लगायतको प्रतिनिधिहरू वडामा खटिनुहुनेछ”, प्रवक्ता भट्टराईले भन्नुभयो ।
२६ गते सम्म सञ्चालन हुने अभियानमा नेताहरूले जनताका कुरा सुन्ने उनले बताए । “तर, औपचारिक कार्यक्रम भने हुनेछैनन्”, उहाँले भन्नुभयो ।
सिन्धुपाल्चोकमा समुदायमा काँग्रेस अभियान १४ गतेबाट शुभारम्भ भएको थियो । नेपाली काँग्रेस सिन्धुपाल्चोक जिल्ला सभापति जङ्ग बहादुर लामा को सभापतित्वमा भएको कार्यक्रममा सिन्धुपाल्चोक जिल्लाका लागी केन्द्रबाट खटिएका केन्द्रीय सदस्य शिव प्रसाद हुमागाईँको प्रमुख आतिथ्यता रहेको थियो ।