मंसिर ९
सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका मोहन बहादुर बस्नेत बिजयी हुनुभएको छ । उहाँले नेकपा एमालेका उम्मेदवार शेरबहादुर तामाङलाई पराजित गर्नुभएको हो । बस्नेतले ११ हजार ८ सय ७४ मतले तामाङलाई पराजित गर्नुभएको हो ।
कांग्रेसका बस्नेतले ३९ हजार ३ सय ६७ मत ल्याउनुभएको छ भने एमालेका तामाङले २७ हजार ४ सय ९३ मत ल्याउनुभएको जिल्ला निर्वाचन अधिकारी विकास रिजालले बताउनुभयो ।
जिल्लाको यो क्षेत्रको निर्वाचन विशेष महत्वका साथ हेरिएको थियो । एमालेले सुरक्षित मानेको क्षेत्र गुमाएको हो । नेपाली कांग्रेसका बस्नेतले क्षेत्र फेरेर जित्नुका साथै सिन्धुपाल्चोक २ मा कांग्रेसले पहिलोपटक जित निकालेको हो । दुवै पूर्वमन्त्रीको प्रतिस्पर्धा रोचक रूपमा हेरिएको भएपनि बस्नेतले बाजी मार्नुभएको हो । तामाङले यसअघि २०७० र २०७४ मा निर्वाचन जित्नुभएको थियो । यो पटक तामाङको ह्याट्रिक यात्रामा ब्रेक लागेको हो ।
सिन्धुपाल्चोक २ मा गठबन्धनका सबै उम्मेदवार विजय भएका छन् । प्रदेशसभा क मा माओवादीका युवराज दुलाल र प्रदेशसभा ख मा कृष्ण कुमार तामाङ (समिर) निर्वाचित हुनुभएको हो ।