चौतारा ।
जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोकले राति ९ बजेपछि देउसी/भैलो खेल्न रोक लगाएको छ । प्रशासनले एक सुचना प्रकाशित गर्दै दीपावली तथा छठ पर्वको अवसरमा जिल्लाबासीमा शुभकामना दिनुका साथै देउसी/भैलो खेल्न राति ९ बजेको समयसीमा तोकेको हो ।
यसका साथै दीपावलीमा दीयोबत्ती बाल्ने क्रममा र घर–घरमा सजाउने विभिन्न विद्युतिय सामग्रीहरु प्रयोग गर्दा विद्युत सर्ट भई आगलागी जस्ता अप्रिय घटनाहरु घट्न सक्ने सम्भावना रहेको हुँदा त्यस्ता सामग्रीहरु प्रयोग गर्दा सावधानी अपनाउन पनि अनुरोध गरेको छ ।
चाडपर्व मनाउने नाममा सार्वजनिक स्थानमा मादक पदार्थहरु सेवन गरी होहल्ला गर्ने, शान्ति सुरक्षामा खलल पुर्याउने गतिविधि नगर्न, जुवातास जस्ता खेलहरु नखेल्न/नखेलाउन र पटका लगायतका बिष्फोटक पदार्थहरु विक्री बितरण, ओसारपसार तथा प्रयोग नगर्न/नगराउन पनि अनुरोध गरेको छ ।