काठमाडौँ । भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्याउन नेपाली कांग्रेस सिन्धुपाल्चोकले सक्रियता देखाएको छ।
गत भदौ १० गते आएको विनाशकारी बाढीले तीनवटै जिल्लामा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएपछि कांग्रेस सिन्धुपाल्चोकले आफ्ना सदस्य तथा शुभेच्छुकबाट राहत रकम संकलन गरेको हो। संकलित ६ लाख ९१ हजार ४१२ रुपैयाँ मंगलबार नेपाली कांग्रेसको केन्द्रीय विपद् व्यवस्थापन कोषमा हस्तान्तरण गरिएको छ।
काठमाडौँको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा सहमहामन्त्री उदयशमशेर राणामार्फत जिल्ला सभापति जंगबहादुर लामासहितको टोलीले रकम हस्तान्तरण गरेको हो।
बाढी प्रभावित नागरिकको तत्कालीन आवश्यकता पूरा गर्न तथा उद्धार र पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले रकम संकलन गरिएको कांग्रेस सिन्धुपाल्चोकले जनाएको छ।
भोटेकोशी र त्रिशूली आसपासका जिल्लामा विपद्को असर गम्भीर बनेका बेला छिमेकी जिल्लाका नागरिकको पीडामा साथ दिन आर्थिक सहयोग जुटाइएको हो। कांग्रेसले विपद्को समयमा राजनीतिक तथा सामाजिक क्षेत्रबाट आवश्यक सहयोग र सहकार्य बढाउनुपर्नेमा जोड दिएको छ।
