पाँचपोखरी थाङपालमा टेलिमेडिसिन सेवा सुरु

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक स्वास्थ्य

स्वास्थ्य सेवा पहुँचलाई प्रविधिमैत्री बनाउने उद्देश्यले पाँचपोखरी थाङपाल गाउँपालिकामा टेलिमेडिसिन सेवा सुरु गरिएको छ। भक्तपुर अस्पतालसँगको सहकार्यमा सञ्चालित यो सेवा आज परिक्षण चरणमा सफलतापूर्वक सम्पन्न गरिएको छ।

प्रदेश स्वास्थ्य मन्त्रालयका मन्त्री किरण थापाको प्रस्तावलाई सहर्ष स्वीकार गर्दै गाउँपालिका अध्यक्ष टासी लामाले निर्देशन दिएअनुसार सेवा सञ्चालन गरिएको हो। टेलिमेडिसिनमार्फत अब स्थानीय बासिन्दाले भक्तपुर अस्पतालका विशेषज्ञहरूसँग प्रत्यक्ष परामर्श गर्न सक्नेछन्।

डा सुमित्रा गौतम बागमती प्रदेश स्वास्थ्य सचिव , उपचारात्मक सेवा महासाखा प्रमुख डा खगेश्वरे गेलाल , जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख दुर्गा बजगांइ , भक्तपुर अस्पतालका चिकित्सक, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुईकेल, सूचना प्रविधि शाखाका प्रतिनिधि लगायत विभिन्न निकायका अधिकारीहरूको सक्रिय भूमिका रहेको गाँउपालिकाका सुचना प्रविधि अधिकृत नारायण क्षेत्रीले जानकारी दिनुभयो ।

गाउँपालिकाले यस सेवाबाट दुर्गम भेगका नागरिकले सहज रूपमा गुणस्तरीय स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको बताएको छ। टेलिमेडिसिन सेवा ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवा विस्तार गर्न एक महत्वपूर्ण पाइला मानिएको छ। यस कार्यक्रमको भर्चुवल उद्घाटन यहि १६ गते प्रधानमन्त्री केपी शर्मा वलिबाट हुने कार्यक्रम रहेको छ ।

के हो टेलिमेडिसिन ?


टेलिमेडिसिन अर्थात् दूर-चिकित्सा, चिकित्सा क्षेत्रमा भएको नविनतम विकासहरु मध्येको एक प्रविधि हो । सामान्य हिसाबमा बुझ्ने हो भने विभिन्न प्रविधिको प्रयोग गरेर एक ठाँउको बिरामीलाई अर्को ठाँउको चिकित्सक वा स्वास्थ्यकर्मीसंग परामर्श लिएर उपचार गर्नुलाई नै टेलिमेडिसिन भनेर बुझ्नु पर्दछ। यसको दायरा एउटा सामान्य मोबाइलमा गरिने परामर्शदेखी लिएर, भिडिओ कन्फ्रेन्स, वेबिनारर आदिसम्म हुन सक्छ । यसले एक ठाँउमा उपलब्ध चिकित्सा विज्ञान र प्रविधिलाई अर्को ठाँउमा सहजै पुग्न सजिलो बनाउँदछ। उदाहरणका लागि, एक ठाँउका विशेषज्ञ चिकित्सकले अर्को ठाँउमा रहेको बिरामीको अवस्था बारे जानकारी लिएर उपचार योजना तयार पार्न सक्छन्। यसले विशेषज्ञता र संसाधनहरूको अभावमा पनि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न मद्दत गर्दछ।
टेलिमेडिसिनले बिरामीहरूलाई चिकित्सकीय परामर्श मात्र प्रदान गर्दैन, बरु यसले अत्याधुनिक चिकित्सा प्रविधिहरूमा पनि महत्वपूर्ण भूमिका खेल्छ। आजभोलि टेलिमेडिसिनको प्रयोग गरेर एक ठाँउका चिकित्सकले अर्को ठाँउमा रहेको बिरामीको शल्यक्रिया (सर्जरी) समेत गर्न सक्ने उदाहरणहरू पाइन्छ। यसले विशेषज्ञ चिकित्सकहरूको सेवा धेरै व्यापक रूपमा उपलब्ध गराउँदछ। यसले न केवल बिरामीहरूका लागि उपचार प्राप्त गर्न सजिलो बनाउँदछ, तर चिकित्सकहरूका लागि पनि आफ्नो विशेषज्ञता र ज्ञानलाई अर्को ठाँउमा पुग्न सजिलो बनाउँदछ।

Leave a Reply