५० शैय्या वर्गमा चौतारा अस्पताल देशकै उत्कृष्ट घोषित

* # समाचार समाज सिन्धुपाल्चोक स्वास्थ्य

चौतारा । सिन्धुपाल्चोकको चौतारा अस्पतालले ५० शैयासहितका अस्पतालमध्ये नेपालकै उत्कृष्ट बन्ने गौरव हासिल गरेको छ। बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले गत चैत ८ र ९ गते गरेको अनुगमनमा अस्पतालले ९६ अंक प्राप्त गर्दै पहिलो स्थान हासिल गर्न सफल भएको हो।

अनुगमनका क्रममा प्रशासनिक व्यवस्थापन, क्लिनिकल सेवा प्रवाह तथा अस्पताल सपोर्ट सेवामा अस्पतालले क्रमशः ९७, ९५ र ९७ प्रतिशत अंक हासिल गरेको जनाइएको छ। अनुगमन टोलीका सदस्य तथा बरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट राजेन्द्र तामाङका अनुसार अस्पतालको रेकर्ड व्यवस्थापन, नियमित मर्निङ कन्फरेन्स, डेटा भेरिफिकेशन लगायतका गतिविधि अत्यन्त प्रभावकारी देखिएका छन्। उनका अनुसार यी अभ्यासहरूले सेवा गुणस्तरमा निरन्तर सुधार भइरहेको स्पष्ट संकेत गरेका छन्।

अस्पतालले १०० पूर्णाङ्कमध्ये ४ अंक मात्र गुमाए पनि आगामी वर्ष शतप्रतिशत अंक हासिल गर्ने लक्ष्यसहित थप सुधारात्मक योजना अघि बढाउने जनाएको छ। यसअघि पनि चौतारा अस्पताल बागमती प्रदेशकै उत्कृष्ट तथा देशभर दोस्रो स्थानमा रहिसकेको थियो।

अस्पतालका स्वास्थ्यकर्मीहरूले यो सफलता सामूहिक मेहनत, प्रतिबद्धता र सेवाप्रतिको समर्पणको परिणाम भएको बताएका छन्। उनीहरूले बिरामीलाई सहज, सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्नु नै आफ्नो मुख्य उद्देश्य रहेको उल्लेख गरेका छन्।

Leave a Reply