सिन्धुपाल्चोक-२ का उम्मेदवार वंशलाल तामाङद्वारा निर्वाचन खर्च सार्वजनिक

* # राजनीति समाचार समाज सिन्धुपाल्चोक

प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार बंशलाल तामाङले आफ्नो चुनावी खर्चको पूर्ण विवरण सार्वजनिक गर्नुभएको छ। निर्वाचन आयोगको कानुनी प्रावधान र आचारसंहिता पालना गर्दै उहाँले बुझाएको प्रतिवेदन अनुसार, निर्वाचन अवधिभर कूल ३० लाख ८७ हजार ५ सय रुपैयाँ खर्च भएको छ।

​तामाङको चुनावी खर्चको संरचना हेर्दा उनले सांगठनिक सञ्चालन र प्रचार सामग्रीलाई उच्च प्राथमिकता दिएको देखिन्छ। विवरणमा उल्लेख भए अनुसार, निर्वाचन कार्यालय सञ्चालनका लागि मात्रै ७ लाख ३५ हजार रुपैयाँ खर्च भएको छ, जसमा प्रति वडा १५ हजार रुपैयाँका दरले ४९ वटा वडामा बजेट परिचालन गरिएको थियो। यसैगरी, ब्यानर, झण्डा, फ्लेक्स र नमुना मतपत्र जस्ता प्रचार सामग्रीको छपाइमा ४ लाख ४८ हजार ५ सय रुपैयाँ खर्च भएको छ भने ती सामग्रीको ढुवानी र वितरणमा थप २ लाख ५० हजार रुपैयाँ खर्च भएको देखिन्छ।

​प्रचार-प्रसारको आधुनिक र परम्परागत दुवै माध्यमलाई तामाङले उपयोग गर्नुभएको छ। २१ वटा कोण सभा, मञ्च र ध्वनि प्रणाली व्यवस्थापनमा २ लाख २५ हजार रुपैयाँ खर्च भएको छ भने एफएम रेडियो, टेलिभिजन र अनलाइन सञ्चार माध्यममार्फत गरिएको प्रचारमा १ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ। यस्तै, चुनावी अभियानमा दृश्य सामग्री (भिडियो) र ग्राफिक डिजाइनको भूमिकालाई महत्त्व दिँदै ३ लाख ५० हजार रुपैयाँ खर्च गरिएको विवरणमा उल्लेख छ।

​यातायात र कार्यकर्ता व्यवस्थापनमा पनि उल्लेख्य रकम खर्च भएको छ। सवारी साधन र इन्धनका लागि ३ लाख ३८ हजार रुपैयाँ र चुनावी अभियानमा खटिने स्वयंसेवक तथा कार्यकर्ताहरूको खाना, खाजा र यातायात सहयोगका लागि ३ लाख ४५ हजार रुपैयाँ खर्च भएको छ। यसका साथै, प्रत्यक्ष मतदाता भेटघाट र घरदैलो कार्यक्रमका लागि १ लाख ९९ हजार रुपैयाँ र अन्य साना तथा आकस्मिक खर्चका लागि ५५ हजार रुपैयाँ खर्च भएको जनाइएको छ।

​जिल्ला निर्वाचन कार्यालय, सिन्धुपाल्चोकमा दर्ता गरिएको यस विवरणमा उम्मेदवार तामाङ र उनका प्रतिनिधि फुर्पा तामाङले हस्ताक्षर गर्नुभएको छ। उम्मेदवारले आफ्नो खर्चको पारदर्शी विवरण समयमै बुझाएर निर्वाचन आचारसंहिताप्रतिको प्रतिबद्धता जनाउनुभएको छ।

Leave a Reply