सिन्धुपाल्चोक ,
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा ७ औँ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता–२०८२ सुरु भएको छ। वडा नम्बर १० स्थित श्री चण्डेश्वरी माध्यमिक विद्यालयद्धारा आयोजित प्रतियोगिताको औपचारिक उद्घाटन आज गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि एवं गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले गमलामा पानी हालेर प्रतियोगिताको समुद्घाटन गर्नुभएको थियो। सो अवसरमा बोल्दै अध्यक्ष नेपालले खेलकुद र शिक्षा एकअर्काका पूरक भएको बताउनुभयो। उहाँले भन्नुभयो, “विद्यार्थीको सर्वाङ्गीण विकासका लागि किताबी ज्ञानसँगै खेलकुद अपरिहार्य छ। पालिकाले खेल र शिक्षाको विकासलाई उच्च प्राथमिकतामा राखेको छ।”

त्यस्तै, गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ५ का अध्यक्ष शशिनाथ आचार्यले खेलकुदले विद्यार्थीमा अनुशासन र राष्ट्रियताको भावना जागृत गराउने उल्लेख गर्नुभयो। उहाँले शिक्षा र खेल क्षेत्रको स्तरोन्नतिका लागि पालिकाले योजनाबद्ध रूपमा लगानी गरिरहेको जानकारी दिनुभयो।

वडा नम्बर २ का अध्यक्ष श्याम बहादुर गिरीले शुभकामना मन्तव्य राख्दै खेलकुदका माध्यमबाट गाउँपालिकाको नाम राष्ट्रिय स्तरमा चिनाउन विद्यार्थीहरूलाई आग्रह गर्नुभयो। आफू पनि खेलाडी भएको नाताले खेलक्षेत्रमा लाग्नेहरूप्रति उच्च सम्मान रहेको उहाँले बताउनुभयो।

माघ ३ गतेदेखि ५ गतेसम्म सञ्चालन हुने यस प्रतियोगितामा इन्द्रावती गाउँपालिका भित्रका १२ वटा माध्यमिक विद्यालयहरूको उत्साहजनक सहभागिता रहेको छ। प्रतियोगिता अवधिभर भलिबल, एथलेटिक्स, दौड लगायतका विभिन्न विधाका खेलहरूमा विद्यार्थीहरूले प्रतिस्पर्धा गर्ने आयोजक विद्यालयका प्रधानाध्यापक शिवराम न्यौपानेले जानकारी दिनुभयो । गाउँपालिका स्तरीय यस प्रतिस्पर्धाबाट छनोट भएका उत्कृष्ट खेलाडीहरूले जिल्ला स्तरीय प्रतियोगितामा सहभागी हुने अवसर पाउनेछन्।
श्री चण्डेश्वरी माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष जीवन कुमार थापामगरको अध्यक्षतामा सम्पन्न भएको उक्त उद्घाटन सत्रमा विद्यालयका सहायक प्रधानाध्यापक रामशरण भट्टराईले स्वागत मन्तव्यद्वारा उपस्थित सबैलाई स्वागत गर्नुभएको थियो। कार्यक्रममा विभिन्न विद्यालयका शिक्षक, विद्यार्थी, खेलप्रेमी र स्थानीय जनप्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो।










