ईन्द्रावती–५ स्थित पुष्पगंगा आधारभूत विद्यालयको नवनिर्मित भवन उद्घाटन

* # शिक्षा समाचार समाज सिन्धुपाल्चोक

सिन्धुपाल्चोकको ईन्द्रावती गाउँपालिका वडा नम्बर ५ मा अवस्थित पुष्पगंगा आधारभूत विद्यालयको सुविधा सम्पन्न नवनिर्मित भवनको उद्घाटन कार्यक्रम आज सम्पन्न भएको छ।
गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटन कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष भीमसेन थापा, वडा सदस्य राधिका तिमल्सिना, छिमेकी विद्यालयका प्रधानाध्यापकहरू, सामाजिक संघ–संस्था, अभिभावक, शिक्षाप्रेमी तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

वडाध्यक्षको जिम्मेवारी सम्हाल्दै तीन वर्षभित्र विद्यालयको भवन निर्माण सम्पन्न गर्ने प्रतिबद्धतासहित गरिएको पहिलो हस्ताक्षर आज व्यवहारमा उतार्न सफल भएको वडाध्यक्ष शशीनाथ आचार्यले बताउनुभयो ।

कार्यक्रममा विद्यालयलाई निःशुल्क जग्गा दान गर्नुहुने जगन्नाथ आचार्य, यमनाथ आचार्य, स्व. डिल्लीप्रसाद आचार्यका परिवार, स्व. पोस्टप्रसाद आचार्यका परिवार, उद्धवप्रसाद आचार्य तथा स्व. शम्भु भन्ने शेखरनाथ अधिकारीका परिवारलाई दोसल्ला र प्रशंसापत्रसहित सम्मान गरिएको थियो। साथै विद्यालयका संस्थापक रामकृष्ण माझी, हर्कबहादुर माझी र लक्ष्मण माझीलाई सम्मानपत्र र दोसल्ला प्रदान गरिएको छ।

उत्कृष्ट अभिभावकका रूपमा ठुलीकान्छी माझी र माइली माझीलाई सम्मान गरिएको कार्यक्रममा संस्थापक प्रधानाध्यापक अम्बिका देवी आचार्य र हालै सेवा निवृत्त प्रधानाध्यापक तीर्थनाथ आचार्यलाई दोसल्ला, सम्मानपत्र, अबिर र मालाबाट सम्मानित गरिएको थियो।
विद्यालय भवन निर्माणको जिम्मेवारी पाएको स्वेच्छा कन्स्ट्रक्सनका प्रतिनिधि रामकुमार आचार्यले विद्यालयको चाबी गाउँपालिका अध्यक्ष झम्कनाथ नेपाल र वडाध्यक्ष शशिनाथ आचार्यलाई हस्तान्तरण गर्नुभयो। त्यस्तै, पालिकाका तर्फबाट विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नित्तेस माझी र प्रधानाध्यापक भवानी नेपाललाई संयुक्त रूपमा चाबी हस्तान्तरण गरिएको थियो।

कार्यक्रममा विद्यालयका बालबालिकाले विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए। साथै गोकर्णेश्वर लाइट एकेडेमी, माकलबारी काठमाडौंका तर्फबाट प्रतिनिधि चिरञ्जीवी नेपाल र पुष्करराज नेपालले विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गर्नुभएको थियो। विद्यालयको वार्षिक परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई पुरस्कारसमेत प्रदान गरिएको थियो।

Leave a Reply