स्वर्गीय विकास लामाको सम्झनामा बौद्धमा रक्तदान कार्यक्रम, ४५ जनाले गरे रक्तदान

* # समाचार समाज सिन्धुपाल्चोक

काठमाडौं । नेपाली कांग्रेस सिन्धुपाल्चोकका पूर्व जिल्ला सभापति तथा लायन्स क्लब अफ काठमाडौं सिन्धुपाल्चोक ‘द ह्याल्पिङ ह्यान्ड्स’ का लायन वर्ष २०२१/२२ का सल्लाहकार स्वर्गीय विकास लामाको स्मृतिमा आज काठमाडौंको बौद्धस्थित स्तुप क्षेत्र परिसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ।
स्वर्गीय लामाको सम्झनामा आयोजित उक्त कार्यक्रममा ४५ जनाले रक्तदान गरेका छन्। रक्तदान गर्ने अधिकांश युवा तथा विद्यार्थीहरू रहेका थिए।
कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता, लायन्स क्लबका पदाधिकारी, शुभेच्छुक र सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो।
लायन्स क्लब अफ काठमाडौं सिन्धुपाल्चोक ‘द ह्याल्पिङ ह्यान्ड्स’, लायन्स क्लब अफ काठमाडौं नमोबुद्ध तथा आर.वाई. फाउन्डेसनको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो।
लायन्स क्लब अफ काठमाडौं सिन्धुपाल्चोक ‘द ह्याल्पिङ ह्यान्ड्स’ की अध्यक्ष रमिला शर्मा पौडेलले सामाजिक उत्तरदायित्व र मानवीय सेवाको भावनालाई आत्मसात् गर्दै स्वर्गीय लामाले समाज सेवा तथा संगठन निर्माणमा पुर्‍याएको योगदानको सम्मानस्वरूप रक्तदान कार्यक्रम आयोजना गरिएको बताइन्।
उनले स्वर्गीय लामाको राजनीतिक नेतृत्वसँगै लायन्स क्लबमार्फत सामाजिक सेवामा देखाएको सक्रियता स्मरण गर्दै यस्ता मानवीय कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन्। त्यस्तै आज सङ्कलन भएको रगत सिन्धुपाल्चोकका विपन्न नागरिकलाई आवश्यक परेमा निःशुल्क वितरण गरिने व्यवस्था मिलाइने पनि बताइएको छ।

Leave a Reply