इन्द्रावती ३ मा लैससास सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न

* # समाचार समाज सिन्धुपाल्चोक

इन्द्रावती गाउँपालिका वडा नं ३ मा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। रेडियो मिसन १०५ थोप्लो ३ मेगाहर्जको आयोजना र वडा नम्बर ३ को आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो। 

समापन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा इन्द्रावती गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष भीमसेन थापाले २०७९ सालदेखि नै गाउँपालिकामा नीति बनाएर लैङ्गिक समानता र सामाजिक समावेशीकरणको क्षेत्रमा काम गरेको बताउनुभएको छ। संविधान त भएका कुरालाई व्यवहारमा उतार्नुपर्ने आजको आवश्यकता भएकाले वडास्तरीय कार्यक्रमले समावेशी विकास र सचेतनाको विकास हुने बताउनुभयो । सबैलाई समेटेर कार्यक्रम गर्दा समतामूलक समाज निर्माणमा सहयोग पुग्नुका साथै व्यक्ति आफैले परिवर्तन आफैबाट सुरु गर्ने पहिलो खुड्किलो भएको उहाँको भनाइ थियो।

यस्तै राजनीतिक दलको प्रतिनिधित्व गर्दै बोल्नुभएका नेकपा एमालेका बिदुर बानिया राष्ट्रिय प्रजातन्त्र पार्टीका भूपेन्द्र बानिया र राष्ट्रिय स्वतन्त्र पार्टीका कृष्णबहादुर बानियाले समुदायका सबै वर्गलाई समेटेर गरिएको कार्यक्रमले प्रभावकारी नतिजा ल्याउने विश्वास व्यक्त गर्नुभएको थियो। साथै समुदायमा रहेका लैङ्गिक असमानता र व्यवहार परिवर्तनबारे पाएको ज्ञानले आगामी दिनमा समावेशी र समुन्नत समाज निर्माणमा सहयोग पुग्ने बताउनुभएको छ। 

समापन कार्यक्रममा बोल्दै महिला स्वास्थ्य स्वयंसेविका कालीमाया पाण्डेले समाज रूपान्तरणका लागि सकारात्मक पहल भएको बताउनुभएको छ। समता र सम्मानको बारे जानकारी पाएको र अब समुदायमा यो सन्देश फैलाउने जानकारी दिनुभयो । 

कार्यक्रममा समुदायका सबै वर्गलाई समेट्दै दुई दिनसम्म लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण सम्बन्धी अभिमुखीकरण गरिएको हो। जसमा विद्यालयका शिक्षकहरू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, उपभोक्ता समितिका पदाधिकारीहरू, राजनीतिक दलका प्रतिनिधिहरु, जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मीहरू, र राजनीतिक दलका प्रतिनिधिका साथै स्थानीयको सहभागिता रहेको थियो।

अभिमुखिकरण कार्यक्रमकाे महिला आत्म निर्भरता केन्द्र (MANK) का अध्यक्ष सञ्चमांया स्याङ्बोले सहजीकरण गर्नुभएको थियो ।

Leave a Reply