२१ औँ कफी दिवसमा पहाडी क्षेत्रको कफी सम्भावना उजागर, सहकार्य मजबुत बनाउने आग्रह

* # समाचार समाज सिन्धुपाल्चोक

चौतारा ।
‘कफी खेती गरौँ, स्वरोजगार बनौँ’ भन्ने मूल नाराका साथ २१ औँ राष्ट्रिय कफी दिवस–२०८२ को अवसरमा न्यू अरनिको रिसोर्ट प्रा.लि. मा सम्पन्न भएकाे छ।

कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद बास्तोलाले नेपालमा कफी खेतीको बढ्दो महत्व र सम्भावनाबारे आफ्नो धारणा राख्दै कफीले ग्रामीण अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउन सक्ने विश्वास व्यक्त गर्नुभयाे। उहाँले विश्व बजारमा कफीको माग निरन्तर बढिरहेको र पहाडी भेगमा यसको उत्पादन क्षमता उच्च भएकाले किसानहरूलाई यसतर्फ थप प्रोत्साहित गर्नुपर्ने बताउनुभयाे। सरकार पनि कफी उत्पादन र बजार विस्तारमा सहयोग गरिरहेको उल्लेख गर्दै उनले कफी क्षेत्रलाई दीर्घकालीन कृषि रोजगारको भर्सल्टाइल विकल्पका रूपमा विकास गर्न आवश्यकतामाथि जोड दिनुभयाे।

कार्यक्रममा सामाजिक अगुवा, कृषक, व्यवसायी तथा स्थानीय जनप्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो। सहभागीहरूले कफी खेतीलाई दिगो आयस्रोतका रूपमा उभ्याउन सरकारी तथा निजी क्षेत्रबीच सहकार्य अझ सुदृढ गर्नुपर्ने सुझाव राखे। आधुनिक प्रविधि, तालिम तथा बजार सुनिश्चितता उपलब्ध गराउन सके कफी खेतीले ग्रामीण समुदायको जीवनस्तर उकास्न ठूलो भूमिका खेल्ने सहभागीहरूको निष्कर्ष थियो।

कार्यक्रमका क्रममा विभिन्न प्रकारका कफी बनाउने तरिका, रोस्टिङ प्रक्रिया, स्वाद पहिचान तथा गुणस्तर सम्बद्ध प्रविधिहरूको विस्तृत डेमोन्स्ट्रेसन प्रस्तुत गरिएकाे थियाे, जसले कार्यक्रममा सहभागीहरूमाझ कफी संस्कृतिप्रति थप रुचि जगायो। सोही अवसरमा अरनिको रिसोर्टका सञ्चालक दिपेन्द्र घलेले कफी उत्पादनका चुनौती र सम्भावनाबारे बोल्दै प्रविधि र तालिमको कमी, प्रशोधन संबंधी ज्ञानको अभाव तथा बजार व्यवस्थापनमा देखिने समस्याले माग पूरा गर्न कठिनाइ आएको बताउनुभयाे।

कार्यक्रमको आयोजना अरनिको एग्रो फर्मले गरेको हो। कफी खेती, प्रशोधन, बजार विस्तार र कफी संस्कृतिको विकासबारे भएको छलफल किसान तथा स्थानीय समुदायका लागि अत्यन्त ज्ञानवर्द्धक र उपयोगी बनेको आयोजकले जानकारी दिएको छ।

Leave a Reply