मेलम्ची । मेलम्ची नगरपालिका वडा नं. १२, बाहुनेपाटीमा निर्माण सम्पन्न भएको नयाँ प्रशासकीय भवनको भव्य उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। प्रमुख अतिथि तथा नगरप्रमुख आइतमान तामाङज्युले उक्त तीन तले आधुनिक र भूकम्प प्रतिरोधी प्रशासकीय भवनको उद्घाटन गर्नु भएको हो। नगरपालिकाको आन्तरिक स्रोतबाट निर्माण गरिएको उक्त भवन सेवाग्राहीमैत्री बनाइएको नगरप्रमुख तामाङले बताउनु भयो । जसले स्थानीयवासीलाई सजिलो, छरितो र प्रभावकारी सेवा प्रवाह गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो । साथै स्थानीय तहको पूर्वाधार विकासमा प्रशासकीय भवनको निर्माण एक महत्वपूर्ण उपलब्धि भएको बताउनु हुँदै सेवा प्रवाहमा अझ गुणस्तरीयता ल्याउने विश्वास व्यक्त गर्नु भयो ।

कार्यक्रमका विशेष अतिथि नगर उपप्रमुख उमा प्रधानले अब नगरपालिकाभित्र वडा नं ६ र ११ मा भवन बनाउन बाँकी रहेको र अन्य मा वडामै सिंहदरबार बनिसकेको धारणा राख्नुभयो। अब सेवा प्रवाह पनि गुणस्तरीय र सिंहदरबारको जस्तै हुनुपर्ने उहाँको भनाइ थियो। पहिला जिल्लाबाट सम्पादन हुने धेरै कामहरू पालिका र वडाबाटै हुने गरेको बताउँदै मेलम्ची १२ को यस कार्यालय बजारबाट नजिकै र सबैलाई पायक पर्ने स्थानमा रहेको बताउनुभयो ।

वडाध्यक्ष गणेश बहादुर तामाङले वडा कार्यालय निर्माणका लागि विभिन्न स्थानमा जग्गा प्राप्तिका लागि प्रयास गरे पनि अन्त्यमा यस स्थानमा निर्माण गर्न सफल भएको बताउँदै वडाबाट प्रवाह हुने सेवामा कुनै पक्षपात नहुने बताउनुभयो । साथै वडा कार्यालय निर्माणका लागि जग्गा दान गर्नुहुने सबै दाताहरूमा धन्यवाद व्यक्त गर्नुभयो। कार्यालय निर्माणका लागि वडाभित्रका ७ जनाले ३ रोपनि जग्गा दान गरेका थिए । जग्गादाताहरूलाई वडा कार्यालय उद्घाटनको अवसरमा सम्मान समेत गरिएको थियो।
वडाध्यक्ष गणेश बहादुर तामाङको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा उपप्रमुख उमा प्रधान, प्रमुख प्रशासकीय अधिकृत निमेष मिश्र, नगरपालिकाका प्रवक्ता तथा वडा नं ५ का अध्यक्ष राजु रायमाझी, वडा नम्बर १० का अध्यक्ष अमृत खनाल, वडा नम्बर २ का अध्यक्ष नगेन्द्र प्रसाद खतिवडा, कार्यपालिका सदस्यहरू, राजनीतिक दलका प्रतिनिधि, पूर्व जनप्रतिनिधिहरु, बुद्धिजीवी, समाजसेवी, स्थानीय, शिक्षक तथा विद्यार्थीहरू, पत्रकार सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो।















