अभयानन्द शिक्षा क्याम्पसको १३ औं स्थापना दिवस एवं १२ औं क्याम्पस सभा सम्पन्न

* # शिक्षा समाचार समाज

नवलपुर ।
अभयानन्द शिक्षा क्याम्पस इन्द्रावती ५ ऐसेलुखर्कको १३ औं स्थापना दिवस एवं १२ औं क्याम्पस सभा सम्पन्न भएको छ ।
बागमती प्रदेशका पूर्वमन्त्री युवराज दुलालको प्रमुख अतिथ्यतामा सम्पन्न कार्यक्रममा आफ्नो भनाइ राख्दै उहाँले क्याम्पस सञ्चालन हुनु एकदमै गौरवको विषय भएको र बागमती प्रदेशमा रहेका सामुदायिक क्याम्पसहरु को राज्यले दायित्व लिनुपर्ने धारणा राख्नुभयो । संघीय र प्रदेश सरकारले सामुदायिक क्याम्पसहरुमा लगानी गर्नुपर्ने उहाँको भनाइ थियो । अध्ययनका लागि विदेश जाने परिपाटी बढेकोमा चिन्ता व्यक्त गर्दै देशमा सुशासन नभएका कारण आन्दोलन भएको उहाँको धारणा थियो ।
क्याम्पसहरू मर्जरमा लान सकेमा स्रोतहरू बढ्दै जाने र यसरी अघि बढ्न नसके अस्तित्व समेत हराउन सक्ने चिन्ता व्यक्त गर्नुभयो । आगामी दिनमा पनि सक्दो सहयोग गरेर जाने प्रतिबद्धता जनाउँदै राम्रो कुरामा प्रतिस्पर्धा गरेर अघि बढ्नु पर्ने उहाँको धारणा थियो ।

इन्द्रावती गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर ५ का अध्यक्ष शशीनाथ आचार्यले क्याम्पसको विकास र विस्तारमा सबै एक भएर लाग्नुपर्ने धारणा राख्नुभयो। साथै राजनीतिक आग्रह र पूर्वाग्रह त्यागेर अघि बढ्नु पर्ने उहाँको भनाइ छ क्याम्पसको उन्नति प्रगतिमा जुनसुकै भूभागमा रहेर पनि निरन्तर र लागिरहने उहाँको भनाइ छ ।

नेपाली कांग्रेसका इन्द्रावती गाउँपालिका सभापति जीवनकुमार थापा मगरले पालिकामा रहेको उद्यमीहरूबाट कोष सङ्कलन गरी उद्योग सञ्चालन गर्न सकेमा रोजगारी बढ्नुका साथै विद्यार्थी सङ्ख्या पनि बढ्दै जाने धारणा थियो । क्याम्पसको जग्गालाई सदुपयोग गरी आम्दानीतर्फ जोड्दै लैजानुपर्ने उहाँको भनाइ छ ।

नेकपा माओवादी केन्द्रका गाउँपालिका अध्यक्ष देवेन्द्र दाहालले क्याम्पसको विषयमा गहिरो समीक्षा गर्ने बेला भएको धारणा राख्नुभयो । पालिकामा रहेका दुईवटा क्याम्पस मर्जरमा लैजानुपर्ने बताउँदै प्राविधिक क्षेत्रका विषयहरु थपेर अघि बढ्नुपर्ने उहाँको भनाइ छ। विद्यार्थी संख्या थप्ने तर्फ विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

कार्यक्रममा क्याम्पसको वार्षिक प्रगति प्रतिवेदन क्याम्पस प्रमुख कविराज पौडेलले प्रस्तुत गर्नुभएको थियो । उहाँले क्याम्पसको आर्थिक अवस्था अवसर चुनौती र सम्भावनाको बारेमा आफ्नो भनाइ समेत उहाँले राख्नुभएको थियो । उक्त अवसरमा हालसम्म ११३ जना क्याम्पसका आजीवन सदस्यहरू रहेको जानकारी गराइएको थियो ।

कार्यक्रममा बागमती प्रदेशका पूर्वमन्त्री युवराज दुलाल इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्कानाथ नेपाल प्रवक्ता शशिनाथ आचार्य राजनीतिक दलका प्रतिनिधिहरू अन्य क्याम्पसका प्रमुख तथा सञ्चालक समितिका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply