इन्द्रावती गाउँपालिकाका आदिवासी जनजाति महिलाहरू जलवायु परिवर्तनका असरहरूमा अनुकूलन र नेतृत्व विकासतर्फ सशक्त बन्दै गएका छन्।
‘जलवायु अनुकूलनमा आदिवासी जनजाति महिलाको नेतृत्व क्षमता विकास परियोजना’ अन्तर्गत शुक्रबार गाउँपालिकाको कार्यालय नवलपुरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो।
यो परियोजना इन्द्रावती गाउँपालिकाको वडा नम्बर ४, ५ र ६ मा सञ्चालन भइरहेको छ। परियोजनाको अवधि तीन वर्षको रहेकोमा अहिले एक वर्ष पूरा भइसकेको छ र दुई वर्ष बाँकी छ।
कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष शोभाना तामाङ, निमित्त प्रमुख प्रशासकीय अधिकृत मीन धामी, तथा विभिन्न जनप्रतिनिधिहरूको उपस्थिति थियो।
यो परियोजना सलासन नेपाल र Center for Indigenous Environmental Research (CIER) Nepal ले क्यानडा सरकारको साझेदारीमा, आदिवासी जनजाति महिला उत्थान केन्द्र सिन्धुपाल्चोक र राष्ट्रिय आदिवासी जनजाति महिला मञ्चसँग सहकार्यमा एक वर्षअघि सुरु गरिएको हो।
तीन वडाका छ समूह सशक्त बने
एक वर्षभित्र टाकुरे, आपचौर, नरानथान र सल्लाघारी क्षेत्रमा गठन गरिएका महिला समूहहरूले वृक्षरोपण, समुदायमा जलवायु सचेतना अभिवृद्धि, र स्थानीय अनुकूलनका ठोस कार्यहरू अघि बढाएका छन्।
इन्द्रावतीका ६ आदिवासी महिला कृषक समूहका प्रतिनिधिहरूले गत वर्ष सम्पन्न कार्ययोजना र आगामी योजनाहरू प्रस्तुत गर्दै परियोजनाबाट प्राप्त अनुभव बाँडेका थिए।
त्रिपक्षीय छलफल र वातावरणीय प्रस्तुति
गाउँपालिका, परियोजना प्रतिनिधि र महिला समूहबीच त्रिपक्षीय अन्तरक्रिया र छलफलमार्फत जलवायु परिवर्तनका चुनौती र समाधानबारे विस्तृत विचारविमर्श गरिएको थियो। वातावरणविद् विजय सिंहले ‘इन्द्रावती गाउँपालिकाको सामुदायिक जलवायु कार्ययोजना’ प्रस्तुत गर्दै स्थानीय स्तरमा व्यवहारिक र दीगो उपायहरूबारे सुझाव दिनुभयाे।
स्थानीय नेतृत्वको प्रशंसा
गाउँपालिकाकी उपाध्यक्ष शोभाना तामाङले भन्नुभयाे “यो परियोजनाले महिलाको क्षमता र आत्मविश्वास अभिवृद्धि गरेको छ। आगामी आर्थिक वर्षमा गाउँपालिकाले यसलाई सम्मान र प्रोत्साहनका रूपमा समेट्नेछ।”
वडा नं. ४ का अध्यक्ष क्षेत्रबहादुर तामाङले निरन्तर सहयोगको प्रतिबद्धता जनाए भने वडा नं. ५ का अध्यक्ष शशिनाथ आचार्यले समूहहरू अनुकरणीय बन्ने विश्वास व्यक्त गर्दै सामूहिक जिम्मेवारीका साथ जलवायु सचेतना बढाउन आग्रह गर्नुभयाे ।
त्यस्तै वडा सदस्य शम्भुप्रसाद कोइरालाले विद्यालयस्तरदेखि नै वातावरणीय सन्देश फैलाउन आवश्यक रहेको औंल्याउनुभयाे।
निमित्त प्रमुख प्रशासकीय अधिकृत मीन धामीले विद्यालयदेखि समुदायसम्म सन्देश पुर्याउने क्षमताको विकास नै सशक्तिकरणको मूल आधार भएको बताउनुभयाे।
स्थानीय अनुकूलनको उदाहरण
सहभागीहरूले यो परियोजनालाई स्थानीय अनुकूलन र महिलाको नेतृत्व विकासको सफल उदाहरणका रूपमा मूल्याङ्कन गरेका छन्। एक वर्षभित्रै परियोजनाले गाउँबस्तीमा वातावरणीय सचेतना, वृक्षरोपण, जलस्रोत संरक्षण र आर्थिक सशक्तिकरणका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको निष्कर्ष निकालिएको छ। कृषि प्राविधिकको उपस्थितिमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा परियोजनालाई थप सशक्त बनाउँदै समुदायस्तर अझ सबल बनाउने विषयमा पनि छलफल गरिएको थियो। अन्तरक्रिया कार्यक्रममा परियोजनाकी जिल्ला फिल्ड संयोजक पानमाया तामाङले सहजीकरण गरेकी थिइन् भने सामाजिक परिचालक शिला तामाङको पनि सक्रिय सहभागिता रहेको थियो।