नवलपुर ।
बलेफी गाउँपालिका–४ डाडागाउँका जलवायु आदिवासी महिला कृषक समूहका ३० जना सदस्य मंगलबार इन्द्रावती–४ टाकुरेमा बोटविरुवा संरक्षणसम्बन्धी अध्ययन भ्रमणमा सहभागी भएका छन्।
चेतनशील प्रभाव नेपालले सञ्चालन गर्दै आएको कृषि फार्ममा पुगेर महिलाहरुले बोटविरुवा संरक्षणका उपाय, जलवायु परिवर्तनका असर र यसको प्रतिकारबारे व्यवहारिक ज्ञान हासिल गरेका हुन्।
कार्यक्रममा कुमारी बोम्जनले सुन्तला, लप्सी, कागती, टिमुरलगायत फलफूलका बिरुवा संरक्षणका तरिका प्रस्तुत गर्दै महिलाको सक्रिय भूमिकालाई महत्वपूर्ण बताउनुभयो।
समूहकी अध्यक्ष मनिषा तामाङले सिकेका सीपलाई व्यवहारमा उतारेर वातावरण संरक्षणमा योगदान दिने विश्वास व्यक्त गर्नुभयो। वडा सदस्य रजनी तामाङ र सामाजिक परिचालक निरुता तामाङले सामूहिक रूपमा प्राप्त ज्ञानलाई व्यवहारमा उतार्दा गाउँ हरियाली बन्ने धारणा राख्नुभयो।
समूहकी सचिव रमिला तामाङले महिलाले परम्परागत खेतीलाई संरक्षण गर्दै फलफूलका बिरुवा रोपेर आर्थिक स्तर सुधार गर्ने लक्ष्यसहित परियोजना सञ्चालन भइरहेको जानकारी दिनुभयो।
भ्रमणका क्रममा बलेफी र इन्द्रावतीका महिलाले अनुभव आदानप्रदान गर्दै बोटविरुवा संरक्षणका व्यावहारिक तरिका सिकेका थिए। सहभागीहरूले प्रत्यक्ष अवलोकनमार्फत थप ज्ञान प्राप्त भएको बताए।
सलासन नेपालका अनुसार यो परियोजना बलेफी र इन्द्रावती दुवै गाउँपालिकामा जलवायु नेतृत्वमा महिलाको भूमिका सशक्त बनाउन सञ्चालन गरिएको हो।
कार्यक्रम आदिवासी महिला उत्थान केन्द्र सिन्धुपाल्चोक, केयर नेपाल, राष्ट्रिय आदिवासी महिला मञ्च र पार्टनरसिप क्यानडाको सहकार्यमा सम्पन्न भएको हो।