फ्रेण्ड्स अफ हिमालयन चिल्ड्रेनको आयोजनामा शनिबार एक कार्यक्रमका बीच संस्थाको सहयोगमा अध्ययन गरिरहेका २० जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ। कार्यक्रममा स्टेशनरीसहितका शैक्षिक सामग्री प्रदान गरिएको हो भने ती सबै विद्यार्थीको पढाइको सम्पूर्ण खर्च संस्था आफैंले व्यहोर्नेछ ।
कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङले परिवर्तन हाम्रो पालामै सम्भव छ भन्दै विद्यार्थीहरूलाई कडा मिहिनेत गर्न प्रेरणा दिनुभयो । संस्थाले गरिरहेको प्रयासलाई समाज परिवर्तनतर्फको सार्थक पाइला भएको उहाँले बताउनुभयो ।
पुर्व मन्त्री तामाङले परिवर्तन अरूले ल्याउँछन् भनेर पर्खिन नहुने भन्दै हामी आफैंले सुरु गर्नुपर्ने बताउनुभयो । शिक्षा भनेको दीर्घकालीन परिवर्तनको मूल आधार भएकाले यस्ता संस्थागत पहलहरूले देशको भविष्य बनाउँने तामाङको भनाइ थियो । उहाँले संस्थाको कामप्रति सम्मान प्रकट गर्नुभयो ।
मेलम्ची नगरपालिकाकी उपप्रमुख उमा प्रधानले फ्रेण्ड्स अफ हिमालयन चिल्ड्रेनले गरिरहेको कामप्रति प्रशंसा व्यक्त गर्दै मेलम्ची नगरपालिकाले आगामी दिनमा समेत सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले संस्थाले सरकारकै कामलाई बोकेको भन्दै त्यसको सदुपयोग गर्दै भोलिका दिनमा विद्यार्थी आफैं पनि संस्थालाई सहयोग गर्ने दिशामा लाग्न सुझाव दिनुभयो।
फ्रेण्ड्स अफ हिमालयन चिल्ड्रेनले विगत १० वर्षदेखि शैक्षिक र जीविकोपार्जनका क्षेत्रमा सहयोग गर्दै आएको संस्थाका अध्यक्ष अनिल तामाङले जानकारी दिनुभयो । उहाँले आफ्नो ब्यक्तिगत मोह त्यागेर सयौं विद्यार्थीको भविष्यको लागी अगाडी बढेको बताउनुभयो । हालसम्म ७३ जना विद्यार्थीलाई शिक्षामा सहयोग पुर्याइसकेको तामाङले जानकारी दिनुभयो ।
मेलम्ची–६ बतासेका सोमबहादुर तामाङको पहल र समन्वयमा हाल अस्ट्रेलियाबाट गरिँदै आएको सहयोग विशेष उल्लेखनीय छ। उहाँकै सहयोगमा बतासे क्षेत्रमा होस्टलसहित विद्यार्थीहरूलाई अध्यापन समेत गराइँदै आएको छ।
कार्यक्रममा संस्थाका सचिव दिनेश तामाङले सोम तामाङको प्रेरणादायक जीवनयात्राको बारेमा जानकारी गराउनुभयो भने कार्यक्रमको सहजीकरण कुमार तामाङले गर्नुभएको थियो ।
छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीहरू तथा पूर्व लाभान्वित विद्यार्थीहरूले संस्थाले उपलब्ध गराएको सहयोगले आफूहरू उच्च शिक्षा हासिल गर्न सफल भएको अनुभव सुनाउँदै संस्था प्रति गहिरो आभार प्रकट गरे । अहिले संस्था आफ्नो सपना पुरा गर्ने आधार बनेको भन्दै धन्यवाद समेत व्यक्त गरे । विगतका दिनमा बतासेमा मात्रै सिमित संस्था अहिले जिल्ला हुँदै अन्यत्र फैलिएको छ ।कार्यक्रमको स्वागत मन्तव्य भने संस्थाका सदस्य सुकुमान तामाङले गर्नुभएको थियो ।



