रेडियो मिसन ।
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाको ४३ सय ३३ घरधुरीमा इन्द्रावती १ सिम्पालकाभ्रेको पानी आउने भएको छ ।
इन्द्रावती गाउँपालिका वडा नं १ छहरेमा लामो समयदेखि जग्गा विवादका कारण पाइप बिस्तारमा असहज भएको थियो । स्टमिट चेन्ज भएपछि पाइप बिस्तार गर्न असहज भएको हो । पुर्वनिर्धारीत स्थान भन्दा स्थान फरक परेको र जग्गा धनिलाई क्षति हुने भएकाले इन्द्रावती बृहत् खानेपानी आयाजनाको पाइप बिस्तारमा स्थानियले अवरोध गर्दै आएका थिए ।
इन्द्रावती गाउँपालिकामा भएको जनप्रतिनिधि, प्रभावित स्थानिय, निर्माण कम्पनी प्रतिनिधि र गाउँपालिकाका कर्मचारी बिच आज आइतबार सहमती भएको छ । ’हामी छलफल गरेर एक बिन्दुमा पुगेका छौँ, पालिका अध्यक्ष संग पनि छलफल भएको छ’, इन्द्रावती ४ का वडा अध्यक्ष क्षेत्र बहादुर तामाङले भन्नुभयो । यो मुद्वा सल्टाउन सबैजना सहमत भएको तामाङले जानकारी दिनुभयो ।
बैठकमा वडा अध्यक्ष क्षेत्र बहादुर तामाङले प्रभावितको गुनासोको बारेमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुर्ण प्रसाद दुलाललाई जानकारी गराउनुभएको थियो ।

’ट्रिटमेन्ट प्लान्टको स्थान परिवर्तन भएको कारण यो समस्या आयो’, वडा अध्यक्ष तामाङले भन्नुभयो । सो बिवादित ठाउँमा कान्छि लमिनिको जग्गा परेको थियो । सो स्थान साविक सिम्पालकाभ्रे गाविस १ छहरे हाल इन्द्रावती गाउँपालिका वडा नं १ रहेको छ । कित्ता नं २४७, २५२ र साविकको वडा नं २ को कित्ता नं २९ मा समस्या भएको जग्गा धनिका प्रतिनिधि छोरा फुर्पा लामाले बताउनुभयो ।
आज भएको बैठक बाट कम्पनी प्रतिनिधि, जनप्रतिनिधि, कर्मचारी र प्रभावित स्थानिय बिच माइन्युट गरेरै सहमती गरीएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुर्ण प्रसाद दुलालले जानकारी दिनुभयो । सो सहमती पत्रलाई कार्यपालिका बाट प्रमाणिकरण गर्ने दुलालले बताउनुभयो ।
सहमती अनुसार प्रभावित जग्गामा वातावरण अनुकुलका फलफुलको बिरुवा लगाउने र जसका लागी गाउँपालिकाले बिरूवा उपलब्ध गर्नुपर्ने छ । त्यस्तै प्रभावित मध्ये बाट जग्गा धनिका प्रतिनिधि छोरा फुर्पा लामालाई हाल ठेकेदार कम्पनी कन्काई/मोतिराम जयमाता जेभीले आयोजना हस्तान्तरण नहुन्जेल सम्म मर्मत सम्भार कर्ताको रूपमा रोजगार दिने र हस्तान्तरण पश्चात् गाउँपालिकाले रोजगारी दिनुपर्ने छ ।
जेठ १५ गते देखि लागू हुनेगरी रोजगारी दिने सहमती भएको हो । सार्वजनिक बिदा बाहेकका दिनमा कम्पनीले तोके अनुसारको काम गर्नुपर्ने सहमतीपत्रमा उल्लेख छ । जसबापत मासिक १५ हजार तलब दिनेगरी सहमती भएको हो ।
२०७७ मंसिर मा आयोजनाको सुरू भएका इन्द्रावती बृहत् खानेपानी आयाजनाको मुल रहेको स्थान सेर्तुङ खोला इन्द्रावती १ भस्मे हो, जुन मुल पालिकामा दर्ता भएको छ ।
सहमती पश्चात् अब काम गर्ने वातावरण सहज भएको कन्काई/मोतिराम जयमाता जेभी का प्रतिनिधि नीम बहादुर रावतले बताउनुभयो । अब यहि जेठ २५ गते अघि पानीको परिक्षण गरिने उहाँको भनाई छ ।
आयोजनाको २३ करोड हाराहारीमा ठेक्का सम्झौता भएको थियो । आयोजनाको २०८१ असोज सम्म म्याद रहेको छ । आयोजना अन्तर्गत १६ वटा आरविटि ट्याङ्की रहेका छन । काम सम्पन्न भएपश्चात २२ लिटर प्रती सेकेण्डको दरले सिम्पालकाभ्रे बाट पानी आउने छ ।