मेलम्ची ।
मेलम्ची नगरपालिका समृद्ध बन्न धेरै समय नलाग्ने मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले बताउनुभएको छ । मेलम्ची नगरपालिका १२ नं वडा कार्यालयको प्रशासनिक भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका मेयर तामाङले उक्त भवन बनाउँदा वडा अध्यक्ष गणेशबहादुर तामाङले धेरै मेहनत गर्नुभएको र ४ करोड ६२ लाख बजेट सुनिश्चित गरेपनि दुई लाख ९७ लाखमै भवन निर्माण सम्पन्न भएको जानकारी दिनुभयो।
अन्य वडाहरूमा भन्दा यस वडाको प्रशासनिक भवन निर्माणमा धेरै खर्च भएको र वडाबाट प्रवाह हुने सेवा निष्पक्ष हुने कुरामा दुविधा नरहेको उहाँको भनाइ थियो। साथै अब वडा कार्यालय सम्पन्न पश्चात् महत्वपूर्ण संरचनाहरू मध्ये स्वास्थ्यचौकी भवनसमेत सबै वडामा निर्माण भइसकेकोले अब वडाको मुख्य सडकको रूपमा रहेको बाहुनेपाटी थाक्ले सडकलाई निरन्तर बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाउनुभयो।
आगामी वर्षसम्ममा नगरपालिकाभित्रका सबै भौतिक संरचनाहरू निर्माण भइसक्ने भएकोले त्यसपश्चातका बजेटहरू आयआर्जन हुने ठाउँमा विनियोजन गर्ने योजना रहेकोले नगरपालिका यसै कार्यकालमा समृद्ध बनाउने तर्फ लागि परेको उहाँको भनाइ छ।
यसका लागि नगरबाट मात्र नभई प्रदेश तथा केन्द्रबाट समेत बजेट आउने भएकोले सबै लागि पर्नुपर्ने बताउनुभयो। यसरी सबैतिरको बजेट एकत्रित गरी विकास निर्माणको काममा सबैको राय सल्लाह बमोजिम काम गर्दै अघि बढेकोले समृद्धिको बाटोतर्फ नगरपालिका लम्किएको उहाँको भनाइ छ।