नवलपुर ।
एकीकृत प्रजनन स्वास्थ्य रूग्णता स्क्रिनिङ तथा व्यवस्थापन सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर इन्द्रावतीमा सम्पन्न भएको छ । जनस्वास्थ्य कार्यालय सिन्धुपाल्चोकको आयोजना तथा इन्द्रावती गाउँपालिकाको समन्वय र सहकार्यमा भएको शिविरको सोमबार गाउँपालिका अध्यक्ष झम्क नेपालले सिम्पाल काभ्रे स्वास्थ्य चौकीमा उद्घाटन गर्नुभएको थियो ।

शिविरमा २३० जना महिलाहरूले सेवा लिएका छन् । पाठेघरको मुखको क्यान्सरको जाँच गरेका १३२ जना महिलाहरु मध्ये ५ जनामा पाठेघरको मुखको क्यान्सर पोजिटिभ देखिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ओम प्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।
त्यस्तै आङ खस्ने समस्या भएका २० जना महिलाहरू पहिचान भएका छन् भने रिङ प्रेसरी प्रयोगकर्ता १५ जना भेटिएका छन् । २ जना महिलाले परिवार नियोजनको अस्थाई साधन इम्प्लान्ट लगाएका भने यौन तथा प्रजनन रोग सम्बन्धी ५९ जनाले सामान्य उपचार गरेका छन् । शिविरमा धुलिखेल अस्पतालका स्त्रीरोग बिशेषज्ञले चेकजाँच तथा परामर्श दिनुभएको थियो ।
वैशाख ८, ९ र १० गते क्रमश सिम्पाल काभ्रे स्वास्थ्य चौकी, सिपापोखरी स्वास्थ्य चौकी र बोडगाउँ आधारभूत अस्पतालमा गरी तीन दिन सम्म चलेकोस्वास्थ्य शिविरमा उक्त संख्यामा महिलाहरुले सेवा लिएका गाउँपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।





