नेपाली कांग्रेसका सांसद मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ स्थित राङ्बुसा जंगलमा लागेको आगलागीमा हाइड्रोपावरलाई कारबाही गर्नेबारे संसद्को ध्यानाकर्षण गराउनुभएकाे छ।
गत १८ गतेदेखि लागेको आगो तीन दिनपछि मात्रै नियन्त्रणमा आएको थियो ।
देशभर आगलागीका घटनाबारे ध्यान दिनुपर्ने बताउँदै उहाँले भोटेकोशीमा लागेको आगलागीको कारण भने एक हाइड्रोपावरको करेन्ट सर्ट भएको जानकारी गराउनुभयाे ।
‘हिमरिभर हाइड्रोपावरमा करेन्ट सर्ट भएर त्यो आगलागी भएको अवस्था रहेछ । लामो समयसम्म आगलागी भएपछि हाइड्रोपावरलाई नै हेलिकप्टरबाट पानी खन्याएर नियन्त्रणमा ल्याइयो,’ उहाँले भन्नुभयाे , ‘एउटा गरिबले आफ्नो बारिको डिलको रुख काट्दा वन मुद्दामा जेल जानुपर्छ । हाइड्रोपावरले आफ्नै कारणले आगलागी भएको स्वीकार्यो । त्यहाँ ठूलो नोक्सानी भइरहेको छ । ३५ हजार हेक्टर लगभग जमिनको रुख नोक्सान भएका छन् । अब नेपालको कानुनले के भन्ने हो ?’
गरिब जनतालाई लाग्ने मुद्दा हाइड्रोपावरलाई पनि लाग्नुपर्ने उहाँको भनाइ थियो ।
‘बारीको डिलमा रुख काट्नेलाई चाहिँ जेल हाल्ने । हाइड्रोपावरको कारणले यत्रो ठूलो नोक्सानी भएको छ,’ उहाँले भन्नुभयाे ।