रेडियो मिसन, नवलपुर ।
इन्द्रावती गाउँपालिकामा सूचिकृत मेलमिलापकर्ताहरुका लागी तीन दिने पुनर्ताजगी तालिम र सातदिने आधारभूत मनोसामाजिक सहयोग तालिम सम्पन्न भएको छ ।
तालिमको आज एक औपचारिक कार्यक्रमकाबिच समापन गरेको हो । कार्यक्रमको अवसरमा प्रमुख अतिथि न्यायीक समितिका संयोजक तथा गाउँपालिका उपाध्यक्ष शोभना तामाङले तालिममा सिकेका कुराहरुलाई व्यावहारमा लागू गर्ने अपेक्षा न्यायीक समितिको रहेको र यस्ता तालिमलाई पालिकाले प्राथमिकतामा राखेर निरन्तरता दिने बताउनुभयो । उहाँले उत्कृष्ट काम गर्नेलाई पुरष्कृत गर्ने भएकोले दत्तचित्त भएर काममा लाग्न अनुरोध गर्नुभयो । साथै प्रत्येक कामको रेकर्ड राख्न समेत आग्रह गर्नुभयो ।
कार्यक्रमका सभापती गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्माले तालिमको उद्देश्य अनुसार सफल भएको बताउनुभयो । साथै यसकोलागी कार्यबिधी आवश्यक पर्ने भएकोले कार्यबिधी छिटो भन्दा छिटो निर्माण गर्ने र त्यसपछि कार्यसम्पादनमा अझ सहजता महसुस हुने बताउनुभयो । साथै समितिकालागी आवश्यक स्रोत र साधन १ महिना भित्र उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो । शर्माले धैर्यता र सक्रियताका साथ तालिममा सहभागिता भएकोमा सहभागीहरुलाई धन्यवाद समेत दिनुभयो ।
तालिम पश्चात् गाउँका मनोसामाजिक र मेलमिलाप सम्बन्धि समस्या वडामै समाधान गर्नुपर्ने न्यायिक समितिका सदस्य तथा वडा नम्बर ४ का अध्यक्ष क्षेत्र बहादुर तामाङले बताउनुभयो ।
तालिम फलदायी भएको र यस्ता तालिम बेला बेलामा भइरहनु पर्ने, यस्ता तालिमहरुबाट नयाँ कुरा सिक्न र सिकेका तर बिर्सनलागेका कुराहरुलाई फेरी सम्झिन सहयोग पुग्ने तालिममा सहभागीहरुले बताए ।
तालिममा मेलमिलाप र मनोसामाजिक परामर्श सम्बन्धी विभिन्न बिषयमा सिकाइएको गाउँपालिकाका न्यायिक समिति सहजकर्ता भुगोल आचार्यले जानकारी दिनुभयो ।