मेलम्चीमा सोनाम ल्होछार २०८१ तथा वृहत सांस्कृतिक कार्यक्रम सम्पन्न

* # जीवन शैली समाचार समाज सिन्धुपाल्चोक

नेपाल तामाङ घेदुङ मेलम्ची नगरपालिकाको आयोजनामा मेलम्चीमा सोनाम ल्होछार २०८१ तथा वृहत सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

बागमती प्रदेशका सांसद कृष्णकुमार तामाङ (समिर)को प्रमुख आतिथ्य तथा मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा पुर्व जिल्ला समन्वय समिति प्रमुख कृष्णगोपाल तामाङ,मेलम्ची ११ का वडा अध्यक्ष चन्द्रबहादुर तामाङ,एमाले नगर कमिटी अध्यक्ष उपेन्द्र तामाङ लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सांसद तामाङले नेतृत्व गर्नेले हरेक नागरिकको भावना र परिस्थिति बुझ्न सक्नुपर्ने बताउनुभयो । उहाँले ल्होछार राष्ट्रिय पर्व भएकाले सबैले मनाउन पर्ने बताउनुभयो । विविध संस्कृति, भेषभुसा,भाषाधर्म भएको देशमा ल्होछारलाई तामाङले मात्र मान्ने भनेर खुम्च्याउन नहुने उहाँको तर्कथियो । सांसद तामाङले नेवार र तामाङ भाषालाई समेत बागमती प्रदेश सरकारले मान्यता दिएकाले अब सरकारी कामकाजमा पनि तामाङ र नेवारी भाषाको प्रयोग हुने बताउनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख उमा प्रधानले कार्यक्रमका लागी मात्र नभएर अधिकारको लागी समेत छलफल हुनुपर्ने बताउनुभयो । कार्यक्रममा महिलाको सहभागीता कम भएको भन्दै उपप्रमुख प्रधानले आगामी दिनमा स्टेजमा बस्ने नेतृत्व गर्न आग्रह गर्नुभयो । उपप्रमुख प्रधानले आफ्नो संस्कृतिको जगेर्नाको लागि पनि यस्ता कार्यक्रम भब्य रुपमा मनाउन पर्ने बताउनुभयो ।

कार्यक्रममा प्रमुख वक्ता नेपाल तामाङ घेदुङका निवर्तमान महासचिव माजिमान थिङ तामाङले आफ्नो भनाई राख्नुभयो । उहाँले राजनितिक दलभन्दा पहिला तामाङ भएकाले सबैको उद्धेश्य एउटै हुनुपर्ने बताउनुभयो । उहाँले आआफ्नो पार्टीभित्र आफ्ना अधिकारका बारेमा खोजि गर्न आग्रह गर्नुभयो । सबै एक भएर अगाडी बढेमा लक्ष्य प्राप्त गर्न सकिने बताउनुभयो ।

कार्यक्रममा निवर्तमान जिल्ला समन्वय समिति प्रमुख कृष्णगोपाल तामाङ,मेलम्ची ११का अध्यक्ष चन्द्रबहादुर तामाङ, घेदुङका जिल्ला अध्यक्ष प्रतापसिंह तामाङ,आदिवासी जनजासत महासघं सिन्धुपाल्चोकका अध्यक्ष ताराबहादुर जिरेल,तरुणदल क्षेत्रिय सभापति अनिलकुमार तामाङ बुद्ध लगायतले शुभकामना मन्तव्य राख्नुभयो ।

घेदुङ मेलम्चीका अध्यक्ष ओम तामाङको अध्यक्षता भएको कार्यक्रममा कलाकारहरु प्रेम लोप्चन,योगेश तामाङ,प्रितम गोले,ओम तामाङ,लमु शेर्पा,तेज थिङ,सञ्जिव घिसिङ,प्रेम योञ्जन लगायतले आफ्नो प्रस्तुती प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply