इन्द्रावती गाउँपालिकामा एचपिभि खोप अभियान सम्बन्धी अभिमुखीकरण सम्पन्न

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक स्वास्थ्य

पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप एचपिभि अभियान २०८१ सम्बन्धी पालिकास्तरीय खोप समन्वय समितिको अभिमुखीकरण कार्यक्रम इन्द्रावती गाउँपालिकामा सम्पन्न भएको छ । स्वास्थ्य शाखाको आयोजनामा भएको कार्यक्रममा जिल्ला जनस्वास्थ्य अधिकृत दिपेन्द्र श्रेष्ठले यस अभियान सिन्धुपाल्चोक जिल्लामा यही माघ २२ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने जानकारी दिँदै नेपाली महिलाहरुमा पाठेघरको मुखको क्यान्सरको अवस्था र यो खोप किन भन्नेबारे जानकारी गराउनुभयो ।

जिल्लामा यस खोप लगाउन योग्य लक्षित उमेर समूहका करिब ११ हजार बालिकाहरुलाई रहेको जानकारी दिँदै इन्द्रावती गाउँपालिकामा यो सङ्ख्या करिब १००० रहेको र शत प्रतिशतलाई खोप दिने लक्ष्य रहेको पनि जानकारी दिनुभयो । १० देखि १४ वर्ष उमेर समुहका कक्षा ६ देखि १० कक्षासम्म अध्ययन गर्ने बालिकाहरूलाई लगाइने यो खोप इन्द्रावती गाउँपालिकामा २२ गते सुरु भई २५ गतेभित्रमा सकिने जनस्वास्थ्य अधिकृत श्रेष्ठको भनाइ छ ।

यो खोप राष्ट्रिय खोप सल्लाहकार समितिको सिफारिस र निर्देशनमा लगाउन लागिएको र ९८ देखि १०० प्रतिशतसम्म प्रभावकारी रहेको बिश्व स्वास्थ्य संगठन ध्ज्इ ले नै प्रमाणित गरेको जानकारी दिँदै यो खोप एक मात्रा लगाए पुग्ने उहाँको भनाइ थियो ।

यस वर्ष बिद्यालयहरुमा केन्द्र बनाई लगाइन लागेको यो खोप अर्को वर्ष देखि नियमित खोपमै समाबेश गरी लगाइने जानकारी दिँदै कोहि पनि लक्षित उमेर समुहका बालिकाहरु यस वर्ष नछुटुन् भन्ने उद्देश्यले भरमगदुर प्रयास भइरहेको बताउनुभयो ।
यस रोगको बिश्वमा र नेपालको तथ्यांकहरु जानकारी दिँदै जनस्वास्थ्य अधिकृत श्रेष्ठले नेपालमा महिलामा हुने यस प्रकारको क्यान्सरबाट मृत्यू हुनेमा पहिलो नम्बरमा रहेको र दोस्रो नम्बरमा स्तन क्यान्सर रहेको बताउनुभयो ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष झम्क नाथ नेपालले गाउँपालिकाको तथ्यांकमा यस खोप लागउन योग्य बालिकाहरु ९ सय ९९ जना बिद्यालयमा अध्ययनरत रहेको र बिद्यालय बाहिर ५ जना रहेको जानकारी दिनुभयो । साथै गाउँपालिका रहेका यी सबै बालिकाहरुलाई कसरी खोप लगाउने भन्नेमा योजना बनाएर अघिबढ्न जरुरी रहेको बताउनुभयो । जसका लागी पालिकाले पुरा गर्नुपर्ने जिम्मेवारी बहन गर्न तयार रहेको र वडा अध्यक्षहरुले पनि आ आफ्नो वडामा जिम्मेवार भएर लाग्न आग्रह गर्नुभयो । साथै जिल्लामै शत प्रतिशत खोप दिने स्थानीय तह हुने गरी काम गर्न सम्बन्धीत सबै सरोकार वालाहरुमा अनुरोध गर्नुभयो ।

त्यस्तै वडा नम्बर १० का अध्यक्ष रामचन्द्र घिमिरेले यस अभियानमा सबै सकरात्मक भएर लाग्न आह्वान गर्नुभयो । त्यसका लागी नागरिकमा प्रचार र चेतनाको लागी पनि सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

यो अभियानका लागि आवश्यक पर्ने सबै सामग्रीहरू खोप केन्द्रका लागि वडाहरूमा पुगिसकेको र खोप मात्रै पुग्न बाँकी रहेको स्वास्थ्य शाखाका अनिरुद्र तिमल्सिनाले जानकारी दिनुभयो अब खोप २० गते सम्ममा सबै वडाका केन्द्रहरुमा पुग्ने पनि उहाँले जानकारी दिनुभयो ।

अभिमुखीकरण कार्यक्रममा गाउँपालिकाभित्रका विभिन्न वडाका वडा अध्यक्षहरू कार्यपालिका सदस्यहरू १२ वटै वडाका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरू सुरक्षा निकायका प्रतिनिधि सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply