मेलम्ची । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) पाँचपोखरी थाङपाल गाउँपालिका समितिले नेपाल विद्युत प्राधिकरण हेलम्बु – मेलम्ची वितरण केन्द्रलाई ज्ञापनपत्र बुझाउँदै विद्युत सेवा प्रवाहमा देखिएको असमानता, ढिलासुस्ती र लापरबाहीप्रति कडा आपत्ति जनाएको छ।
ज्ञापनपत्रमा स्थानिय बासिन्दाहरू लामो समयदेखि विद्युत अवरुद्ध भएर समस्यामा परिरहेको, तर विद्युत प्राधिकरणले समस्या समाधानमा चासो नदिएको गुनासो गरिएको छ। माओवादी केन्द्रका पालिका समिति अध्यक्ष दिलबहादुर वाइबाको नेतृत्वमा बुझाइएको ज्ञापनमा बिभिन्न मागसहित समस्या तत्काल समाधान नभए जनस्तरबाट संघर्ष कार्यक्रम सुरु गर्ने चेतावनी दिइएको छ।
अध्यक्ष वाइबाले कुलमान घिसिङलाई गठबन्धन सरकारले हटाए संगै बिजुली समस्या बढेको बताउनुभयो ।
त्यस्तै स्थानीय नेता लोकमान तामाङले पाटि र स्थानीय संग समन्वय गरेर सहयोग गर्ने बताउदै बिजुली नियमित गर्नका लागि पहल गर्न आग्रह गर्नुभयो ।
मागहरू यस्ता छन् :
पाँचपोखरी थाङपाल गाउँपालिका लगायत हेलम्बु , मेलम्ची इन्द्रावती लगायत आसपासका क्षेत्रमा बारम्बार भइरहने लोडसेडिङको कारण सार्वजनिक गरियोस् ।
अघोषित लोडसेडिङ अन्त्य गरी नियमित सेवा प्रवाहको व्यवस्था तत्काल गरियोस्।
ट्रान्सफर्मर, पोल, लाइन व्यवस्थापन जस्ता पूर्वाधार तत्काल सुधार गरियोस्।
प्राधिकरणको कार्यशैली तथा समस्याका विषयमा जनतालाई स्पष्ट जानकारी दिइयोस्।
दीर्घकालीन समाधानको लागि आवश्यक पूर्वाधार सुधार योजना सार्वजनिक गरियोस्।
पार्टीले चेतावनी दिँदै भनेको छ, “हामी जनताको आधारभूत अधिकारका रुपमा विद्युत सेवामा आएको समस्याको समाधान नभए जनस्तरबाट आन्दोलनको कार्यक्रम घोषणा गर्न बाध्य हुनेछौं।”
ज्ञापनपत्रमा सचिव रमेश शेर्पाको समेत दस्तखत छ।
कार्यक्रममा पालिका समिति इन्चार्ज अर्जुन लोप्चन , सचिव रमेश शेर्पा, नेता प्रेम पुरी लगायत स्थानीय, जिल्ला स्तरीय नेताहरुको उपस्थिति रहेको थियो ।
ध्यानाकर्षण पत्र बुझ्दै प्राधिकरणका हेलम्बु मेलम्ची वितरण केन्द्रका प्रतिनिधिले सब स्टेशन निर्माणका लागि सक्दो पहल गरिरहेको बताउँदै बिभिन्न स्थानबाट बति ल्याएर बिजुली सञ्चालन गर्दा निकै समस्या भै रहेको प्राधिकरणले जनाएकोछ ।
