नवलपुर ।
इन्द्रावती गाउपालिकामा गाउँपालिका स्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । गाउँपालिका अध्यक्ष झम्क नेपालले खेलका प्रमुख रेफ्री धन बहादुर बस्नेतलाई खेलकुद सामाग्री हस्तान्तरण गरि खेलको उद्घाटन गर्नुभएको हो । इन्द्रावती गाउँपालिकाको ब्यबस्थापन र राजेश्वरी माद्यामिक बिद्यालयको आयोजनामा हुने प्रतियोगिताको उद्घाटन समारोह आयोजक बिद्यालयका अध्यक्ष बासु अधिकारीको सभापतित्वमा भएकाे हाे ।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले हालसम्म पाँच ओटा रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको र छैठौं प्रतियोगिता पनि अनुशासनमा रहेर खेल सम्पन्न गर्न आग्रह गर्नुभयो । प्रतियोगिता जित्नु र स्वस्थ प्रतिस्पर्धाबाट जित्नुमा धेरै फरक हुने उहाँकाे भनाइ थियाे । खेलाडी बिद्यार्थीहरुलाई खेलप्रति अनुशाशित भएर लागे त्यसको मुल्यांकन अरुले गर्ने बताउनुभयो । स्थानीय सरकारले सबै क्षेत्रमा काम गर्नुपर्ने भएकोले बजेट अनुसार ब्यबस्थापन गरेर काम गर्दै सबैलाई समेटेर अघि बढिरहेको र प्रतियोगिता गर्न बिद्यालयहरुलाई बजेट अपुग भएको कुरा आएको बताउँदै यसबारे गम्भीर छलफल हुने उहाँको भनाई थियो । साथै गाउँपालिका भित्रका विद्यालयहरुलाई वार्षिक ४ हजार डलर रकम उपलब्ध गराएको र सरकारले अहिलेसम्म प्रधानाध्यापकको भत्ता नबढाए पनि आफूहरुले शतप्रतिशत भत्ता वृद्धि गर्नुका साथै इसिडी शिक्षकको तलब पनि बढाएको जानकारी दिनुभयो । अध्यक्ष नेपालले प्रतियोगिता आयोजक बिद्यालयलाई अनुसासित ब्यबस्थित र मर्यादित रुपमा सम्पन्न गर्न शुभकामना दिनुभयो ।
कार्यक्रमका विशेष अतिथि गाउँपालिकाका उपाध्यक्ष सोभना तामाङले यस प्रतियोगिताबाट गाउँपालिका मात्रै नभई राष्ट्रिय देखि अन्तर्राष्ट्रिय स्तर सम्म आफ्नो ठाउँको प्रतिनिधित्व गर्ने खेलाडी उत्पादन समेत हुने भएकोले यसमा सबैले ध्यान दिनुपर्ने बताउनुभयो । आयोजक प्रती सफलताको शुभकामना व्यक्त गर्दै खेलाडीहरुलाई अनुशासन र नियममा रहेर खेल्न आग्रह गर्नुभयो ।
गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर ५ का अध्यक्ष शशिनाथ आचार्यले जित्नको लागि खेलेपनी पदक भन्दा पहिला अनुशासित र मर्यादित भएर सबैको मन जित्नको लागी खेल्न जरुरी रहेको बताउनुभयो । जित र हार दुबै स्वीकार गर्न सक्नुपर्ने बताउँदै असफल भयो भनेर अमर्यादित नहुन आग्रह गर्नुभयो ।
वडा नम्बर ७ का अध्यक्ष रबिन्द्र कुमार खातीले न्यून स्रोत र साधनबाट प्रतियोगिता सम्पन्न गर्नुपर्ने भएपनि वडाबाट समस्या हुन नदिने धारणा राख्नुभयो। साथै जिल्लामा गएर खेल्नको लागि छनोट हुनेगरी सबैले मेहनत गरेर अनुशासनमा रहेर नियमपूर्वक खेल्न सबै सहभागी विद्यार्थी खेलाडीहरुलाई आग्रह गर्नुभयो । साथै सबैमा जितको शुभकामना पनि व्यक्त गर्नुभयो ।
वडा नम्बर १० का अध्यक्ष रामचन्द्र घिमिरेले खेल जित्नको लागि मात्र नभई स्वास्थ्य लाई मजबुत बनाउनको लागि पनि खेलिने बताउँदै अनुशासनमा रहेर आफ्नो प्रतिभा देखाउन आग्रह गर्नुभयो। साथै प्रतियोगिता सञ्चालनको लागि विद्यालयहरूलाई बजेटको अभाव हुनु छलफलको विषय भएको भन्दै गाउँपालिकामा खेलकुद ऐन बनिसकेको र यस ऐन अन्तर्गत काम गर्दा आगामी दिनमा यो समस्या नआउने दाबी गर्नुभयो।
आयोजक विद्यालय राजेश्वरी माध्यमिक विद्यालयका खेल संयोजक प्रताप सिंह तामाङले विद्यालयलाई गाउँपालिकाले विश्वास गरी आयोजनाको जिम्मा दिएकोमा गाउँपालिकाप्रति धन्यवाद व्यक्त गर्दै विद्यालयहरूको प्रोत्साहनका लागि अन्य कार्यक्रमहरू पनि गाउँपालिकाबाट हुनुपर्ने बताउनुभयो। साथै अघिल्लो वर्षदेखि रनिङ शिल्पुड रस्कार हटाएकोमा ध्यानाकर्षण गराउँदै पालिकाबाट पुरस्कारको घोषणा गर्न गाउँपालिका समक्ष माग गर्नुभयो।
सिम्पालेश्वरी माध्यमिक विद्यालय का प्रधानाध्यापक नवराज खरेलले विद्यालय खेलकुदका लागि लगानी कम भएको बताउँदै राष्ट्रपति रनिङशिल्ड को तयारीका लागि विद्यालयले पाउनुपर्ने बजेट नपाएको गुनासो गर्नुभयो। साथै यस्ता सहयोग रकमहरू उपलब्ध नहुँदा सामुदायिक विद्यालयहरूलाई प्रतियोगितामा सहभागी हुन समस्या हुने गरेको पनि बताउनुभयो ।
नेपाली कांग्रेस इन्द्रावती गाउँपालिकाका सभापति जीवनकुमार थापा मगरले यो प्रतियोगिताबाट विद्यार्थीहरूले दुईवटा कुरा जित्न सक्ने बताउनुभयो। जसमध्ये पहिलो पदक र दोस्रो मन जित्ने गरी मेहनत गर्न सहभागी विद्यार्थी खेलाडीहरूलाई सुझाव दिनुभयो।
गाउँपालिका भित्रका १२ माध्यमिक विद्यालयका विद्यार्थीहरू सहभागी प्रतियोगितामा २७ विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।
इन्द्रावती ८ मा रहेको सहिद स्मृति खेल मैदानमा भएको उद्घाटन सत्रमा इन्द्रावती गाउँपालिका वडा नम्बर २ का अध्यक्ष श्यामबहादुर गिरी, वडा नम्बर ४ का अध्यक्ष क्षेत्रबहादुर तामाङ, वडा नं ८ का अध्यक्ष दिल कुमार श्रेष्ठ, वडा सदस्यहरू १२ वटै विद्यालयका शिक्षकहरू लगायत जनप्रतिनिधिहरू विभिन्न पार्टीका प्रतिनिधिहरु विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायतको सहभागिता रहेको थियो। उक्त मैदानमा एथलेटिक्सका खेलहरू हुने र राजेश्वरी माध्यमिक विद्यालयको प्राङ्गणमा भलिबल प्रतियोगिता हुने जनाएको छ।
प्रतियोगिताको समापन यही पौष २९ गते राजेश्वरी माध्यमिक विद्यालयको प्राङ्गणमा हुने आयोजकले जानकारी दिएको छ ।