स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले गृह जिल्ला सिन्धुपाल्चोकको घोर्थली स्वास्थ्य चौकीको नवनिर्मित भवनको उद्घाटन गर्नुभएको छ। मन्त्री बस्नेतले बिहीबार त्रिपुरासुन्दरी गाउँपालिका १ मा हालै निर्माण सम्पन्न भएको स्वास्थ्य चौकीको दुई तले भवनको औपचारिक उद्घाटन गर्नुभएको हो।
भवन उद्घाटनपछि मन्त्री बस्नेतले नागरिकको उपचार र स्वास्थ्य सेवामा सहज पहुँचका लागि आफूले काम गरिरहेको जानकारी दिनुभयो । भवन र उपकरणले मात्र स्वास्थ्य सेवा प्रवाह हुँदैन। त्यसमा आवश्यक पर्ने जनशक्तिको पनि व्यवस्था हुनुपर्छ, उहाँले भन्नुभयो, संविधानले नै ग्यारेन्टी गरेको स्वास्थ्यको हक नागरिकले सहज रुपमा पाउनुपर्छ। त्यसतर्फ हामीले काम अगाडि बढाइसकेका छौं।
उहाँले जनताले अनुभूति गर्ने गरी सेवाम सुधार गर्दै लैजाने तर्फ आफू र मन्त्रालयको टिमले योजना बनाउँदै काम गर्ने तयारी गरिरहेको जानकारी दिनुभयो। मन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालयबाट नवनिर्मित भवनका लागि आवश्यक पर्ने अक्सिजन कन्सन्ट्रेटर, औषधि र अन्य स्वास्थ्य सामग्री पनि सोही कार्यक्रमका क्रममा हस्तान्तरण गर्नुभएको छ।
दश वटा कोठा भएको दुई तले उक्त भवन सघन सहरी तथा भवन निर्माण आयोजना रामेछापले छायाँश्वरी निर्माण सेवालाई एक करोड ७४ लाख ११ हजार रुपैयाँमा निर्माण गरेको हो। भवन निर्माणका लागि आयोजनाले २०७८ वैशाख ३ गते सम्झौता गरेको र २०७९ पुस २७ गते निर्माण सम्पन्न भएको आयोजनाका इन्जिनियर टंकप्रसाद गौतमले जानकारी दिनुभयो। भवनका लागि स्वीकृत भएको स्पेसिफिकेसन, डिजाइन र लागत अनुसार सम्झौता अवधि सकिनुभन्दा केही समयअघि नै गुणस्तरीय काम भएको छ, उहाँले भन्नुभयो ।
कार्यक्रममा त्रिपुरासुन्दरी गाउँपालिकाका अध्यक्ष भक्तध्वज बोहराले संविधानले दिएको अधिकार अनुसार नागरिकलाई निशुल्क आधारभूत स्वास्थ्य सेवा प्रदान गरिरहेको जानकारी दिनुभयो। उनले स्वास्थ्य बीमाका क्षेत्रमा पनि गाउँपालिकाले काम गरिरहेको बताउनुभयो।
बाह्रबिसे नगरपालिकाका मेयर बालकृष्ण बस्नेतले स्वास्थ्यमन्त्री हुनुभन्दा अघिदेखिनै नागरिकको स्वास्थ्यमा सहयोग गर्दै आएका व्यक्ति स्वास्थ्यमन्त्री भएको भन्दै मोहन बस्नेतको प्रशंसा गर्नुभएको थियो।