देउसीभैलो कार्यक्रममार्फत थाङपाल भ्याली माविको डिजिटल अभियानमा उत्साहजनक सहयोग

* # शिक्षा समाचार समाज सिन्धुपाल्चोक

पाँचपोखरी थाङपाल गाउँपालिका–४ स्थित थाङपाल भ्याली माध्यमिक विद्यालयले सञ्चालन गरेको डिजिटल विद्यालय निर्माण अभियानमा करिब १८ देखि १९ लाख रुपैयाँ सहयोग जुट्ने भएको छ। काठमाडौंमा आयोजित देउसीभैलो विशेष कार्यक्रममा विभिन्न क्षेत्रका शिक्षाप्रेमी, समाजसेवी, बुद्धिजीवी, जनप्रतिनिधि तथा सहयोगी मनहरूले नगद सहयोग र प्रतिबद्धता व्यक्त गरेका हुन्।

ग्रामीण क्षेत्रका बालबालिकालाई प्रविधिमैत्री वातावरणमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुन्दर सापकोटाले बताउनुभयो। विद्यालयमा रहेका २४ वटै कक्षाकोठालाई स्मार्ट कक्षाकोठामा रूपान्तरण गर्ने लक्ष्यअनुसार पहिलो चरणमा चालु वर्ष १० वटा स्मार्ट बोर्ड खरिद गरिनेछ।

वडाका चार विद्यालय समायोजन गरी स्थापना भएको विद्यालय भवन तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुभएको थियो। बागमती प्रदेशकै नमुना विद्यालयका रूपमा परिचित यस विद्यालयमा २४ वटा कक्षाकोठा छन्। शिक्षक दरबन्दी न्यून रहे पनि विद्यालयले गुणस्तरीय शिक्षामा राम्रो नतिजा हासिल गर्दै आएको प्रधानाध्यापक राजु तामाङले बताउनुभयो।

अभियान सफल बनाउन सहयोग गर्ने सम्पूर्ण दाता, निःशुल्क कार्यक्रमस्थल उपलब्ध गराउने राकेश तथा विद्यार्थीको बसोबास र खानपानमा सहयोग गर्ने माकालबारी गुम्बा विकास समितिप्रति विद्यालयले आभार व्यक्त गरेको छ। विद्यालयलाई समाजको साझा भविष्यका रूपमा विकास गर्दै डिजिटल शिक्षाको पहुँच विस्तार गर्ने प्रतिबद्धता विद्यालय परिवारले व्यक्त गरेको छ।

Leave a Reply