शैक्षिक अभियन्ता गिरी द्वारा २ विद्यालयमा शैक्षिक सामाग्री र न्यानाे कपडा प्रदान

* # शिक्षा समाचार समाज सिन्धुपाल्चोक

रेडियाे मिसन ।
समाजसेवी एवम् शैक्षिक अभियन्ता मोहन बहादुर गिरिले शुक्रवार आज ईन्द्रावती गाउँपालिकाको वडा नं ८ र १० अवस्थित दुई वटा विद्यालयका शिक्षक र बिद्यार्थीहरुको लागी शैक्षिक सामाग्री र न्यानो कपडा बितरण गर्नुभएको छ ।

एक कार्यक्रमका बिच ईन्द्रावती १० को पाटीगाउँमा अवस्थित श्री सरस्वती आधारभुत विद्यालयका शिक्षक र बिद्यार्थी गरि ११२ जनालाई न्यानो कपडा(ट्र्याकसुट) बितरण गरिएको हो । साथै ईन्द्रावती ८ ज्यामिरेमाने स्थीत श्री पञ्चकन्या आधारभुत बिद्यालयमा शिक्षक र बिद्यार्थी गरि ८५ जनालाई न्यानो कपडा र शैक्षिक सामाग्री प्रदान गरिएको ईन्द्रावती २ का वडा अध्यक्ष श्याम बहादुर गिरिले जानकारी दिनुभयो ।

२०८३ साल भित्र ईन्द्रावती गाउँपालिकाका सबै सामुदायीक विद्यालयमा शैक्षिक सामाग्री र न्यानो कपडा बितरण गर्ने लक्ष्य लिइएको समाजसेवी मोहन बहादुर गिरिले जानकारी दिनुभयो । जसमा आज बितरण गरिएको १९ औँ र २० औँ विद्यालय हुन । आज सम्बन्धित वडाको वडा अध्यक्षको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो । ईन्द्रावतीमा ३९ वटा सामुदायीक विद्यालय रहेका छन ।

हाल सम्म ईन्द्रावतीका ४६०० विद्यार्थीलाई न्यानो कपडा तथा शैक्षिक सामाग्री बितरण गरिसकिएको छ । साथै ५३ जना बिद्यार्थीलाई प्राबिधिक शिक्षा अध्ययन गर्नको लागी ५० हजारको दरले छात्रबृत्ति समेत अभियन्ता गिरिले उपलब्ध गराउनुभएको छ । ईन्द्रावती ११ का एक बिद्यार्थीलाई समेत ईन्जिनियर अध्ययनको लागी गिरिले सहयोग गर्नुभएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा नं १० का अध्यक्ष रामचन्द्र घिमिरेले शैक्षिक अभियन्ता गिरिले सबै विद्यालयलाई शैक्षिक सामाग्री र न्यानो कपडा बितरण गर्न लागेकोमा खुसी लागको बताउनुभयो । ‘आफ्नो खर्चमा गरिव तथा जेहेन्दार विद्यार्थीलाई ईन्जिनियर पढाइरहनुभएको छ । खेलकुद लगायत स्वास्थ्य क्षेत्रमा सहयोग गर्नुभएको छ’, घिमिरेले भन्नुभयो, ‘शैक्षिक क्षेत्र सुधारको लागि म हातमा हात साथमा साथ गर्न तयार छु’ ।

त्यस्तै ईन्द्रावती ८ का अध्यक्ष डिल बहादुर श्रेष्ठले समाजसेवी गिरिले शैक्षिक क्षेत्रमा पुराउनुभएको योगदानको प्रशंसा गर्नुभयो । उहाँले आफु बोल्न भन्दा काम धेरै गर्न आएको बताउँदै वडामा २ बर्ष भित्रमा धेरै काम भएको जानकारी दिनुभयो । शैक्षिक क्षेत्र सुधारको लागि अभिभावक पनि सचेत हुन जरूरी रहेको उहाँको भनाई छ ।

कार्यक्रममा समाजसेवी सुदर्सन आचार्यले अभियन्ता मोहन गिरि विद्यार्थीलाई पढ्नको लागि उत्प्रेरणा जगाउने व्यक्तित्व भएको बताउनुभयो । आफुले सोचेको र विद्यार्थीले युग सुहाउँदो शिक्षा प्राप्त गर्न सकुन भनेर गिरिले यो अभियान सुरू गरेको आचार्यले उल्लेख गर्नुभयो ।

त्यस्तै श्री पञ्चकन्या आधारभुत बिद्यालयका विव्यस सदस्य दयाराम तामाङले भविष्यमा महान व्यक्ति बनोस भनेर शैक्षिक सामाग्री बितरण गरिएको बताउनुभयो । राज्यको लागानीलाई अवहेलना गरेर जतिपनि निजि विद्यालयमा झुकाव गरिएको छ त्यसको कारण पत्ता लगाउन जरूरी भएको उहाँको भनाई छ ।

कार्यक्रममा राजनितिक दलका प्रतिनिधि, जनप्रतिनिधि, पुर्व जनप्रतिनिधि, समाजसेवी, शिक्षक, अभिभावक, विद्यार्थी लगायतकाे उपस्थिति रहेकाे थियाे ।

Leave a Reply