सिन्धुपाल्चोक । अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकाका चित्रप्रसाद श्रेष्ठले कांस्य पदक जित्नुभएकाे छ ।
इटालीको लिग्नानोमा अक्टोबर १४ देखि १८ तारिखसम्म सञ्चालन भएको ३३औँ एसकेडीयूएन (SKDUN) विश्व सोतोकान कराते च्याम्पियनसिपमा श्रेष्ठले भेट्रान्सतर्फ पुरुष ८० केजी तौल समूहको कुमुते विधामा तेस्रो स्थान हासिल गर्दै कांस्य पदक जित्नुभएकाे हाे ।
विश्वका ४० देशका खेलाडी सहभागी प्रतियोगितामा श्रेष्ठले उत्कृष्ट खेल प्रदर्शन गर्दै नेपालको प्रतिनिधित्व गर्भनुएकाेहाे । उहाँको सफलताले अन्तर्राष्ट्रिय खेलकुद क्षेत्रमा नेपाली खेलाडीको उपस्थिति थप उजागर गरेको छ।
अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्दै पदक हासिल गर्न पाएकोमा खुसी व्यक्त गर्दै श्रेष्ठले आफ्नो उपलब्धिले नेपालको गौरव बढाउन योगदान पुगेको बताउनुभयाे ।
स्थानीय खेलाडीले विश्वस्तरीय प्रतियोगितामा पदक हासिल गरेपछि पाँचपोखरी थाङपाल गाउँपालिकासहित सिन्धुपाल्चोकको खेलकुद क्षेत्रमा यस उपलब्धिलाई महत्त्वपूर्ण सफलताका रूपमा हेरिएको छ। श्रेष्ठको सफलताले कराते खेलमा लागेका नयाँ पुस्ताका खेलाडीलाई समेत प्रेरणा दिने अपेक्षा गरिएको छ।
